![]()
दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ को शुक्रबार भृकुटीमण्डपमा उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताएका छन् । उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धि अहिलेको राष्ट्रिय कार्यभार रहेको बताए ।गृहमन्त्री श्रेष्ठले राष्ट्रिय पुँजीको विकास गर्न निजी क्षेत्रले सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले मुलुकलाई सामाजिक, आर्थिकरूपमा समृद्ध बनाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्नेमा जोड दिँए ।आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठले स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने उल्लेख गरे । शुक्रबारदेखि राजधानीमा आयोजना गरिएको एक्स्पो यही असोज २९ गतेसम्म चल्नेछ ।भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजित उक्त एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, हस्तकलाका उत्पादनलगायतका सामग्री बिक्रीमा राखिएका आयोजकले जनाएको छ ।सो प्रदर्शनीमा पश्मिना, स्टोन, माला, गलैँचा, गार्मेन्टका सामान, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हातबाट निर्मित कागज, नेपाली ढाका, कार्पेट, घरेलु साना तथा ठूला उद्योगबाट उत्पादित वस्तु, जडीबुटीलगायत राखिएका छन् ।नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएकोे संयोजक कपिल अधिकारीले बताए । उनले सो एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको जानकारी दिए ।विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाउने लक्ष्य राखिएको उनले बताए । कम्तीमा ५० हजार मानिसले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ ।



























