
नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनतालाई विश्वास दिलाउने गरि बजेटको कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उहाले हरेक बर्ष सार्वजनिक हुने बजेटले जनतामा केहि आशा जाग्ने गरेपनि कार्यान्वयन नहुदा सो आशा निराशमा परिणत हुने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । बजेट देशको एक वर्षको योजना र कार्यक्रम भएकोले यस विषयमा निक्कै गम्भीर हुनुपर्ने उहाँले धारणा राख्नुभयो । उहाले आफू नयाँ सांसद् भएकोले जनताहरूको आफूहरू प्रतिको आशा, विश्वास र भरोसा पनि आलो नै भएको बताउनुभयो । नेम्वाङले अहिलेको समस्या भ्रष्टाचार हो कि, संरचनागत त्रुटि हो वा राजनीतिक अस्थिरता हो भन्ने कुराको समीक्षा गर्नुपर्ने बताउनुभयो ।उहाले आफ्ना पिता सुवास नेम्वाङले देखाएको बाटोलाई अवलम्वन गर्दै देश र जनताका काममा लाग्ने प्रतिवद्धता जनाउनुभयो । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले मंगलबार पहिलो पटक सदनमा मन्तव्य राख्नुभएको हो ।




























