प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले तीन मन्त्रीको राजीनामाको माग यथावत रहेको बताएको छ ।सोमवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीको राजीनामाको माग गर्नुभएको हो । उहाँले ति विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो । सम्बन्धित मन्त्रीहरुले राजीनामा नदिएमा उनीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उहाँको भनाई छ । उहाँले विवादित मन्त्रीहरुलाई नहटाएसम्म एमालेको आन्दोलन जारी रहेको उल्लेख गर्नुभयो । उहाँले सामन्तवादका अवशेषहरुलाई पिठ्युमा बोकेर समाजवादको हल्ला गरेर बस्ने छुट सरकारलाई नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सामन्तवादका अवशेषहरुलाई पिठ्युँमा बोकेर समाजवादको हल्ला गरेर बस्ने छुट छैन सरकारलाई । प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्छ । उहाँ के गर्नुहुन्छ ? विवादित मन्त्रीहरुको विषयमा ? कि उनीहरुले राजीनामा दिनुप¥यो । कि उहाँले बर्खास्त गर्ने आँट गर्नुप¥यो । सुप्रिमोभन्दा माथि कुन सुप्रिमो छ यो देशमा ? उहाँलाई सुप्रिमो भन्छन् प्रधानमन्त्रीलाई प्रचलित भाषमा । को सुप्रिमो छ ? कि अरु कसैले लगाएजस्तो असली घोडा कम्फर्टेबल बनेको हो ? नेपाली जनतालाई जवाफ चाहिन्छ । हामीले यो कुरा माग गरिरहेका छौँ । एक दिन, दुई दिन, तीन दिन होइन । अनि प्रतिपक्षीलाई दोष देखाएर, गठबन्धनको झण्डा हल्लाएर मुलुकमा सुशासन आउँछ ? सभामुख महोदय स्पष्ट रुलिङ चाहिन्छ र हाम्रो आन्दोलन जारी छ । हामी यत्तिकै चुप लागेर बस्न सक्दैनौँ । सुन्दर शब्दहरु सुन्नका लागि हाम्रो कान प्रतिक्षारत छन् । प्रधानमन्त्रीले दिनुहुन्छ भने । तर अब कुराको सुन्दरता होइन, व्यवहारको प्रष्टता चाहियो । उहाँले ती मन्त्रीहरुलाई हटाइदिनु पर्दछ । त्यो काम हुनैपर्दछ ।’
उहाँले प्रतिपक्षले बारम्बार विवादित मन्त्रीहरुको राजीनामा मागिरहेको भन्दै सरकारको कानमा रुवा हालिएकोले नसुनिएको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले मिटरब्याज पीडितहरुले कहिले न्याय पाउँछन् र किसानले दुधको मुल्य कहिले पाउँछन् भनेर पनि प्रश्न गर्नुभयो ।