काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचार, अनियमितता तथा दलीय लुटतन्त्रको विरुद्धमा सशक्त रुपमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । २४ चैतमा पार्टीद्धारा काठमाडौंमा भ्रष्टाचार, अनियमितता तथा दलीय लुटतन्त्रको बिरुद्धमा हुने जनप्रदर्शनमा सहभागि हुन उनले आग्रह समेत गरे । काठमाडौंको शंखरापुर नगरपालिकामा आज आयोजित आजपाको नगर भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरुद्धमा देशैभरी आन्दोलन हुने चेतावनी दिए ।
राजनीतिक दलको सिण्डीकेट, दलीय लुटतन्त्र र नेताहरुको भागबण्डाले मुलुकको बिकास हुन नसकेको बताउँदै उनले अहिलेको व्यवस्था पूर्णरुपमा असफल भएको बताए । व्यवस्था परिवर्तन देखी भ्रष्टाचार, अनियमितता तथा दलीय लुटतन्त्रका विरुद्धमा आम जनता सडकबाटै जवाफ दिनुपर्ने बताए । भ्रष्टाचारीहरुलाई जहाँ देख्यो त्यही कारवाही गरेमात्रै देशमा सुशासन कायम गर्न सकिने उनले बताए । ‘बजेट भागबन्डा बन्द गर ! बिजुली पानी फ्री गर !!’ भन्ने मुलनाराका साथ सम्पन्न शंखरापुरको नगर भेलाले सुनिल बिसंखेको अध्यक्षतामा २१ सदस्यीय आजपाको नगर कमिटी गठन भएको छ । सम्पन्न सो भेलामा बिभिन्न पार्टी परित्याग गरी नेताकार्यकर्ताहरु आजपामा प्रवेश गरेका छन् ।