
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलको अवस्थामा पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताउनुभएको छ ।शुक्रबार सुर्खेत बिमानस्थलमा प्रेस सेन्टर सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको अर्को भूमिकामा जाने भन्दै तत्काल नै पार्टीको नेतृत्व हस्तान्तरण उपयुक्त नरहेको बताउनुभएको हो । आफुलाई सधै पार्टीको नेतृत्व गरिरहने रुचि नरहेको र अध्यक्ष भन्ने पद आफ्ना लागि त्यति ठुलो पनि नभएको उहाको भनाइ छ । उहाले माओवादीलाई कमजोर पार्न पार्टी फुट्को हल्ला चलाइएको भन्दै पार्टी फुट्ने भन्ने चर्चा गलत सावित भएको धारणा राख्नुभयो ।त्यस्तै प्रचण्डले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको र आफुले पनि सदनबाट प्रष्ट पार्ने काम मात्रै गरेको बताउनुभयो ।सरकार पहिलो र दोस्रो दल मिलेको संसारको संसदीय इतिहास नभएको उल्लेख गर्दै उहाँले गलत कुरालाई चोखाउनका लागि गरिएका सबै खालका क्रियाकलापको साक्षी भएर माओवादी नबस्ने बताउनुभयो ।सदनमा हिंसा सम्बन्धी विवादका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रचण्डले विस्तृत शान्ति सम्झौतादेखि संविधानमा उल्लेख गरिएका शब्दको मर्मभन्दा बाहिर जाने गरी अवमूल्यन नगर्न सचेत गराउनुभयो । अहिले जनयुक्त शव्दको विरोध गर्नेहरुले नै कुनै समयमा जनयुद्ध र यसका उपलब्धिलाई राम्रैसंग प्रसंशा गरेको उहाले बताउनुभयो ।




























