
काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना मागप्रति सरकार गम्भीर नबनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ।संघका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि अनिश्चितकालका लागि रोकिएको छ।यसअघि आन्दोलनका विभिन्न चरणअन्तर्गत संघले पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकेको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानमा पठाउन दिइएको समयसीमा समेत समाप्त भएपछि संघले पूर्ण रूपमा काम–कारोबार बन्द गर्ने निर्णय गरेको जनाएको छ।संघले आफ्ना माग सम्बोधन गर्न सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम अघि बढाएको जनाएको छ। म्यानपावर कम्पनीहरू बन्द भएपछि वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने प्रक्रिया प्रभावित हुने भएको छ।



























