
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो ।एमालेले झाँक्रीलाई लुम्बिनी प्रदेशको महिला क्लस्टरबाट उम्मेदवार बनाउने भएको हो । एकीकृत समाजवादीकी पुर्व नेतृ झाँक्री एमाले प्रवेश गरेपछि हालै सम्पन्न महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । झाँक्रीले गुल्मी-२ बाट प्रत्यक्ष निर्वाचन लड्ने चाहना राखेपनि सो क्षेत्रमा पार्टी उपाध्याक्ष गोकर्ण विष्टनै उम्मेदवार बन्ने भएपछि उनलाई राष्ट्रिय सभामा उम्मेदवार बनाइएको हो ।एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच राष्ट्रियसभा निर्वाचनमा तालमेल भएको छ। सोही तालमेलअनुसार एमालेले सात सिटमा दाबी गरेको छ ।एमालेले प्रदेशगत रूपमा कोशी प्रदेशबाट रोशनी मेचे, बागमती प्रदेशबाट डा. प्रेमकुमार दंगाल, गण्डकी प्रदेशबाट सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम तय गरेको छ। आयोगका अनुसार आज बिहानदेखि दिउँसोसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिनेछ।




























