
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको छ ।निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ६९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल एक सय ५७ रुपैयाँ ५० पैसा तोकेको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रका लागि पेट्रोल प्रतिलिटर एक सय ७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ५९ रुपैयाँ तोकेको छ भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ रुपैयाँ र डिजेल तथा मट्टितेल एक सय ६० रुपैयाँ तोकेको छ । इण्डियन आयल कर्पाेरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ८३ पैसा र डिजेलमा एक रुपैयाँ ५६ पैसा बढेर आएको निगमले जनाएको छ ।




























