
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सिङ क्षेत्रका समस्या समाधान गर्नका लागि नीति कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्ने बताउनुभएको छ ।आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित १४औँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने तयारीमा रहेको भन्दै नर्सिङ क्षेत्रका समस्या समाधान गर्नका लागि पनि नीति कार्यक्रम र बजेटमा सकारात्मक पहल गर्ने बताउनुभएको हो । उहाँले बिरामी संख्याको अनुपातमा नर्सको दरबन्दी कायम गर्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । संगठन तथा व्यवस्थापन सर्वे गरी दरबन्दी थप गर्नेबारे सरकारको तर्फबाट आफूले विभिन्न चरणमा छलफल समेत चलाएको भन्दै उहाँले छिटै यसको समाधानतिर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नर्सहरुले लामो समयसम्म इन्टर्नमा काम गर्नुपर्ने, जगिर पाएका नर्सहरुको पनि पारिश्रमिक अत्यन्त न्यून रहने, ग्रामीण तथा दूरदराजमा काम गर्ने नर्सहरुका लागि प्रोत्साहनका कार्यक्रमहरु पनि नहुने समस्या आफूलाई थाहा भएको बताउनुभयो । निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरुमा नेपाल सरकारको न्यूनतम पारिश्रमिक सरह सेवा सुविधा सुनिश्चित हुनुपर्ने, उत्पादित जनशक्तिलाई स्वदेशमै राजेगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गर्नुपर्ने जस्ता नर्सिङ क्षेत्रको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताउनुभयो ।कार्यक्रममा नेपाल नर्सिङ संघका अध्यक्ष मन कुमारी राईले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकारले बिरामी संख्याको अनुपातमा नर्सको दरबन्दी बढाउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नर्सिङ शिक्षामा सरकारले पर्याप्त लगानी गरेमा नर्सहरुलाई गुणस्तरीय शिक्षा दिन सहयोग गर्ने भएकाले त्यसले बिरामीले पनि गुणस्तरीय सेवा पाउने बताउनुभयो ।नर्सिङ दिवसका अवसरमा नर्सिङ विषयमा विद्यावारिधि गर्ने नर्सलाई सम्मान गरिएको छ । नेपालमा सन् २०१२ देखि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले नर्सिङ विषयमा विद्यावारिधि सुरु गरेको हो।




























