
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सोमबार विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिएपनि दलीत समूदायले भने काठमाडौंमा खवरदारी र विरोध सभा गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाएका छन् । राष्ट्रिय स्तरमा दिवस नमनाएर दलिय समूदायलाई सरकारले वेवास्ता गरेको भन्दै आफुहरुले विरोध स्वरुप माइतिघरमा प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।प्रदर्शनमा सहभागीहरुले मानवता विरोध जात व्यवस्था मुर्दावाद, पूर्ण समानुपातीक व्यवस्था लागू गर, दलित अव चूप छैन, विभेदकारीको अघि झुक्दैन लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएपनि व्यवहारमा जातीय भेदभाव तथा छुुवाछूत प्रथाको अन्त्य भने हुन नसकेको अधिकारकर्मीहरुको भनाइ छ ।




























