
विभागीय टोली एपिएफले आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा दोस्रो जित हासिल गरेको छ ।...त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा बिहीबार सम्पन्न खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ सेटले पराजित गरेको हो । पहिलो सेट २२–२५ एपिएफले गुमाएको थियो । तर, त्यसपछिका सेट एपिएफले २५–१२, २५–१४ र २५–१९ ले जित्न सफल भयो ।त्यस्तै बिहीबार नै भएको अर्को खेलमा साविक विजेता टिप टप हेल्प नेपाल विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्यो । हेल्प नेपालले २५–२१, २५–२२ र २५–२० ले खेल आफ्नो पक्षमा पारेको हो । जितसंगै टिप टप हेल्प नेपालले फाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।त्यअघि बिहीबार नै भएको महिलातर्फको खेलमा न्यु डायमन्डले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो भने एभरेस्टले एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गरेको छ । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल भलिवल संघले जनाएको छ ।




























