
काठमाडौं । आन्दोलनरत ट्यांकर चालक र सरकारबीच सहमति भएको छ । चालकहरुले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो ।चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो ।सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालक आन्दोलित भएका हुन । ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राखेका छन् ।श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् । ट्यांकर चालकहरुको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरु बन्द भएका छन् । अधिकांश पम्पमा इन्धन रित्तिएको छ ।




























