
काठमाडौँ - भक्तपुरमा यस बर्षको गाईजात्रा पर्व (सापारु) को तयारी तीव्र पारिएको छ ।भक्तपुर नगरपालिकाले जात्रामा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरुका साथै अन्य आवश्यक तयारीलाई तीव्रता दिएको हो । भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको दिनसम्म गाईजात्रा पर्व मनाइन्छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्वलाई सभ्य, व्यवस्थित र प्रतिस्पर्धात्मक ढंगले सञ्चालन गर्ने बताउनुभयो । नगरमा बढीभन्दा बढी सांस्कृतिक गतिविधिहरु प्रदर्शनीका लागि नगरबासीहरुलाई उत्साहित गर्नका लागि सवै वडामा सांस्कृतिक भेला आयोजना गरिएको भन्दै प्रजापतीले भाद्र १ गतेसम्म सवै तयारी सम्पन्न गर्ने जानकारी दिनुभयो । त्यस्तै गाईजात्रा पर्वमा नगरभित्र रहेका तारहरुको व्यवस्थापनका लागि आग्रह गरिसकेको भन्दै समयमा नै तारको व्यवस्थापन नगरे नगर आफैले काट्ने उल्लेख गर्नुभयो ।भक्तपुरमा प्रत्येक वर्ष जनैपूर्णिमाको साँंझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु हुने परम्परा रहिआएको छ । त्यस दिन साँंझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ । भक्तपुर नगरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाइने र त्यो क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने नगरपालीकाले जनाएको छ । भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ । भक्तपुरको मुख्य आकर्षण घिन्ताङघिसी नाचलाई लिइन्छ ।




























