। सचेत नेपाली पार्टीले वागमती प्रदेशको मकवानपुर जिल्लाका बागमती गाउँ पालिका, बकैया गाउँ पालिका सहित जिल्लाका प्राय सबै गाउँ र नगर पालिकामा स्थानीय समित बनाइसकेको छ । स्थानीय निर्वाचनको उपयोग गर्दै सचेत नेपाली पार्टीले देशव्यापी संगठन विस्तारको अभियान शुरु गरेको छ । प्रदेश एक, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वागमती प्रदेशमा सक्रियता बढाएको छ । संसदको निर्वाचनमा हुने खर्च त बहिसाव हुने नै भयो साना पार्टीले स्थानीय निर्वाचनमा नै करोडौं खर्च गर्ने ठूला पार्टीसँग प्रतिस्पर्धामा जित्नको लागि ठूलो सकसको सामना गर्नुपर्ने अवस्था छ । ठूला पार्टीको आर्थिक जालो चिरेर वैकल्पिक शक्ति भन्दै आएका साना पार्टीले यस स्थानीय निर्वाचनमा आफ्नो अस्तित्व कायम राख्ने संभावना कति होला त ? सचेत नेपाली पार्टीका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद प्रसाईकाका अनुसार, ‘अहिले सचेत नेपाली पार्टी जीतहारको खेल खेलिरहेको नभएर विचारको जग निर्माणको दिशामा छ । करोडौं खर्च गरेर जित्ने स्थानीय निर्वाचन भनेको भ्रष्टचारको लाइसेन्स हो । करोडौं खर्च गरेर जित्ने जनप्रतिनिधि भ्रष्टचारको लाइसेन्स बोकेर गएको हुन्छ त्यसले के जनताको काम गर्छ ? उसको लागि राजनीति व्यवसाय हो । त्यत्रो लगानी गरेर जित्नेले पहिलो काम आफ्नो लगानी उठाउने नै गर्ने हो । यिनीहरुले जितेर पनि जनताको सेवा भन्दा पनि आफू र आफ्नाको सेवा गर्ने हुन् । त्यसकारण हामीले जित्नेहार्नेभन्दा पनि हाम्रो एउटा प्रतिनिधि हरेक नगर, गाउँ र वडामा रहनु भनेको भ्रष्टचारका बानी परेका पुराना पार्टीका यस्ता भ्रष्ट प्रतिनिधिको टाउका माथि तरबार झुण्डिनु जस्तो हो । वास्तवमा सचेत नेपालीको उपस्थितिले चौकिदारको काम गर्छ । अहिले सचेत नेपाली प्रतिनिधिले पुराना पार्टीका प्रतिनिधिले पहिला गरेका भ्रष्टचार र वेथीतिको भण्डाफोर नागरिकलाई सचेत गर्नु पर्छ र आफू नउठे पनि उठेका इमानदार उम्मेद्वारलाई सहयोग गरेर इमानको राजनीतिको महत्व जनतालाई बुझाउनु पर्छ । अहिले हाम्रो उद्देश्य भनेको इमानको राजनीति पनि हुन सक्छ, पैसा खर्च नगरी पनि निर्वाचन जित्न सकिन्छ भनेर बेइमानहरुलाई विस्थापित गर्दै इमानको राजनीति स्थापित गराउनु हो ।’ सबै जिल्लामा सचेत नेपाली पार्टीको चुनाव चिन्ह पाउने अवस्था नभएकाले इमानदार स्वतन्त्र उम्मेद्वारलाई सहयोग गर्ने र आफ्नो चुनाव चिन्ह पाइने जिल्लाका स्थानीय निकायमा भने १७२१ उम्मेद्वार भने उठाउने भएको छ । अझै समय बाँकी रहेकाले उम्मेद्वार थपिने संभावना पनि रहेको पार्टीका प्रवक्ता ओमप्रकाश खरेलले जनाए । 


