
सर्लाही । मिथिलाञ्चलका मैथिली महिलाहरूले आज पतिको दीर्घायु, सुस्वास्थ्य तथा परिवारको सुख–समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । मिथिला क्षेत्रमा यो पर्वलाई ‘वसराइत पावइन’ नामले पनि चिनिन्छ ।हरेक वर्ष जेठ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा विवाहित महिलाहरू निराहार व्रत बसेर वर तथा पीपलको रुखमुनि सामूहिक पूजा–आराधना गर्ने परम्परा रहेको छ । महिलाहरूले पान, सुपारी, केरा, फलफूल, धूप, अगरबत्तीलगायतका पूजा सामग्री अर्पण गर्दै वरको रुखमा रातो र पहेँलो धागो बेरेर पूजा गर्ने गर्छन् ।पर्वका अवसरमा व्रतालु महिलाहरूले धानको लावा भुटी बेसारबाट गौरीको आकृति बनाउने, वरको रुखलाई काँचो धागोले बेरेर पूजा गर्ने तथा भोलिपल्ट स्नानपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर व्रत समापन गर्ने चलन रहेको छ ।धार्मिक मान्यताअनुसार सत्ययुगमा सतिसावित्रीले कठोर व्रत र तपस्याबाट आफ्ना पति सत्यवानको प्राण यमराजबाट फिर्ता ल्याएकी थिइन् । यही विश्वासका आधारमा मिथिलाञ्चलमा विवाहित महिलाहरूले पतिको दीर्घायु र अटल सौभाग्यको कामना गर्दै वट सावित्री पर्व मनाउने परम्परा रहिआएको छ ।



























