
काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।आइतबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस तयारी सम्बन्धी बैठकले गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो । प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु एवं राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति लगाएत रहेका छन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तारमा समेत मनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले देशलाई हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु रहेको र परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु समेत रहेको उल्लेख गर्नुभयो । उहाले प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन नसक्ने भएकाले यसलाई भव्यताका साथ मनाउनुपर्ने बताउनुभयो ।बिक्रम सम्बत २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरुमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।




























