
काठमाडौं – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ ।मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गर्दै संगठनमार्फत जनपरिचालन बढाउने रणनीति अघि सारेको हो ।
आज पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकको प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत दमन गरेको भन्दै आन्दोलनको थप कार्यक्रम ल्याइएको महासचिव शंकर पोखरेलले बताए ।घोषित कार्यक्रमअनुसार चैत २५ गतेसम्म जिल्ला तहमा बृहत् भेला गरिनेछ भने चैत २८ गते देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरिनेछ । वैशाख ३ गते वडा तहमा भेला, ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन प्रदर्शन गर्ने कार्यक्रम तय भएको एमालेले बताएको छ ।उनका अनुसार वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन एवं सभा आयोजना हुनेछ ।




























