
विश्व ओलम्पिक दिवसको अवसरमा बिहीबार वसन्तपुरको डबलीमा छ सय बालबालिकाले मेडल पेन्टिङ गरेका छन् । दुई वर्ष देखि छ वर्षसम्मका बालबालिकाले ओलम्पिक मेडलको पेन्टिङ गरेका हुन ।काठमाडौँ भित्रका २२ वटा विद्यालयका प्रि स्कुल (युकेजी) सम्म अध्ययन गर्ने बालबालिकाहरूले ओलम्पिक दिवश मनाउन एक साता अभियान अन्तर्गत बिहीबार अन्तिम कार्यक्रम अन्तर्गत पेन्टिङ कार्यक्रम सम्पन्न गरेको हो ।ओलम्पिक बारे बालबालिकामा जानकारी दिनुका साथै पेन्टिङले उनीहरूमा कलर थेरापी हुने, आफ्नो प्रस्तुति वृद्धि हुने र कलर र पेन्टिङ क्षमता वृद्धि हुने आयोजक प्रि स्कुल ओलम्पिक कमिसनका संस्थापक अध्यक्ष राज्य लक्ष्मी वैद्यले जानकारी दिनुभयो ।धेरै विद्यालयबाट बालबालिकाहरू सहभागी हुनाले एक विद्यालयबाट अर्को विद्यालयका विद्यार्थी बिचको भेटघाट भएको र वसन्तपुरको डबलीमा कार्यक्रम आयोजना गरिएकाले हेरिटेजको महत्त्व बारे समेत विद्यार्थीहरूमा जानकारी लिने अवसर मिलेको प्रि स्कुल ओलम्पिक कमिसनका महासचिव सम्झना बस्नेतले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।नेपाल ओलम्पिक कमिसन अन्तर्गत गठन गरिएको यो कमिसनले गत असार २ गते देखि अभिभावकको र्याली हुँदै एक साता व्यापी कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयहरूमा साता भरी विभिन्न क्रियाकलाप सम्पन्न गरिएको थियो । बिहीबार आयोजित कार्यक्रमलाई सपोर्ट अफ अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।




























