
चितवन । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघका अनुसार अब ठूलो अण्डा एक्स एलको मूल्यप्रति क्रेट ४७५ रुपैयाँ पुगेको छ । आजदेखि लागु भएको नयाँ मूल्य सूची अनुसार अण्डाको मूल्यमा प्रति क्रेट १५ रुपैयाँले वृद्धि गरिएको छ । यसअघि ४६० रुपैयाँ रहेको थियो । त्यस्तै ठूलो अण्डा ४५० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ४३५ रुपैयाँ प्रतिक्रेट रहेको थियो र मिडियम अण्डा ४०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ३८५ रुपैयाँ रहेको थियो ।संघले अण्डा उत्पादक किसानहरूसँगको छलफल तथा कार्यसमिति बैठकको निर्णयअनुसार २०८२ साल चैत २२ गतेदेखि लागू हुनेगरी नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरिएको जानकारी दिएको छ । मूल्य निर्धारण गर्दा चितवनलाई आधार मानिएको संघले जनाएको छ । त्यसैगरी, ठूलो अण्डाको मूल्य प्रति क्रेट ४५० रुपैयाँ र मिडियम अण्डाको मूल्य ४०० रुपैयाँ तोकिएको छ । चितवनलाई आधार मानेर तय गरिएको यो मूल्य देशभरका उत्पादक र विक्रेताका लागि सन्दर्भ मूल्य हुनेछ ।अण्डाको मूल्य वृद्धि हुनुमा ढुवानी तथा प्याकेजिङ सामग्री महँगो हुनु प्रमुख कारण रहेको संघले जनाएको छ । यद्यपि, सामान्यतया गर्मी मौसममा उत्पादन घट्ने भएकाले पनि अण्डाको मूल्य बढ्ने प्रवृत्ति रहने गरेको छ ।लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको भन्दै संघले सम्पूर्ण सरोकारवालाहरूलाई नयाँ दररेट अनुसार नै अण्डाको खरिद-बिक्री गरिदिन अनुरोध गरेको छ ।




























