
पुण्य प्रसाईनेपालको अवस्था यसभन्दा भिन्न छ। नेपाल कुनै सम्झौताबाट जन्मिएको राष्ट्र होइन। यसको आफ्नै सभ्यता, राज्य संरचना र दीर्घ ऐतिहासिक निरन्तरता छ। पृथ्वी नारायण शाहको एकीकरण अभियान केवल भूभाग विस्तार मात्र थिएन, त्यो आत्मनिर्भर र सुरक्षित राष्ट्र निर्माण गर्ने प्रयास थियो। काङ्गडादेखि कुमाउँ, गढवाल, काश्मिर हुँदै पूर्वतर्फ भूटान र बंगालसम्म फैलाउने सोच र अभियानले देखाउँछ कि नेपाल आफैं विस्तारवादी शक्ति थियो, कसैको बीचमा बस्न बनाइएको निष्क्रिय भूभाग होइन।
बालेन सरकारले राष्ट्रिय प्रतिबद्धतापत्र’ को एकीकृत मस्यौदाको १४ नम्बर बुँदामा प्रयोग गरिएको बफर र भाइब्रेन्ट ब्रिज शब्दावलीको यतिबेला राजनीतिक र कूटनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ । मस्यौदामा , ‘नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई सर्वोपरी राख्दै नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ को रूपमा रूपान्तरण गरी त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटीका माध्यमबाट राष्ट्रिय हित सुनिश्चित गरी नेपाललाई स्वतन्त्र, तटस्थ र विश्वशान्तिमा आधारित असंलग्न राष्ट्रको रुपमा विश्वमञ्चमा स्थापित गरिनेछ ।’ भनिएको छ ।नेपाललाई बफर स्टेट भन्ने चलन नयाँ होइन, तर यसको जरा हाम्रो इतिहासभन्दा बढी बाह्य दृष्टिकोणमा छ। कुनै देशलाई कसरी हेरिन्छ भन्ने कुरा प्रायः शक्तिशाली राष्ट्रहरूको दृष्टिले तय हुन्छ। त्यसैले नेपालबारेको यो बहस केवल परिभाषाको होइन, आत्मसम्मान र ऐतिहासिक यथार्थको पनि हो।बफर स्टेट भन्नाले सामान्यतया दुई ठूला शक्तिबीचको त्यस्तो भूभाग बुझिन्छ, जसलाई ती शक्तिहरूले प्रत्यक्ष टकराव रोक्न बीचमा राखेका हुन्छन्। यस्तो राज्य प्रायः आफैंको स्वतन्त्र ऐतिहासिक यात्राबाट होइन, बाह्य शक्ति सन्तुलनको परिणामस्वरूप उभिएको हुन्छ। उदाहरणका रूपमा युरोपमा बेलायत र फ्रान्सबीच बनेको बेल्जियम, दक्षिण एशियामा ब्रिटिस र रुसबीचको प्रतिस्पर्धामा बनेको अफगानिस्तान, र पछिल्लो समय रूस र पश्चिमबीचको तनावमा रहेको युक्रेनलाई पनि यही दृष्टिले हेरिन्छ। यी सबै सन्दर्भमा एउटा साझा कुरा देखिन्छ, ती राष्ट्रहरूको भूराजनीतिक हैसियत बाह्य शक्तिको रणनीतिले निर्धारण गरेको छ।नेपालको अवस्था यसभन्दा भिन्न छ। नेपाल कुनै सम्झौताबाट जन्मिएको राष्ट्र होइन। यसको आफ्नै सभ्यता, राज्य संरचना र दीर्घ ऐतिहासिक निरन्तरता छ। पृथ्वी नारायण शाहको एकीकरण अभियान केवल भूभाग विस्तार मात्र थिएन, त्यो आत्मनिर्भर र सुरक्षित राष्ट्र निर्माण गर्ने प्रयास थियो। काङ्गडादेखि कुमाउँ, गढवाल, काश्मिर हुँदै पूर्वतर्फ भूटान र बंगालसम्म फैलाउने सोच र अभियानले देखाउँछ कि नेपाल आफैं विस्तारवादी शक्ति थियो, कसैको बीचमा बस्न बनाइएको निष्क्रिय भूभाग होइन।
अंग्रेजसँगको युद्धको प्रसंगमा पनि यही कुरा लागू हुन्छ। एंग्लो नेपाल युद्धलाई केवल नेपाललाई बफर बनाउने रणनीतिक चालका रूपमा बुझ्नु एकपक्षीय हुन्छ। युद्धको क्रममा दुवै पक्षले ठूलो क्षति व्यहोरेका थिए। अंग्रेजहरूले केही क्षेत्रमा जिते पनि नेपालले पूर्वतर्फ आफ्नो प्रतिरोध कायम राखेको थियो। यही सन्तुलनले अन्ततः सम्झौताको बाटो खोल्यो। सुगौलीको सन्धी बाध्यताबाट आएको थियो, तर त्यसले नेपाललाई पूर्ण रूपमा अधीन बनाएको थिएन। यदि अंग्रेजको उद्देश्य मात्र बफर बनाउने थियो भने, त्यसका लागि पूर्ण नियन्त्रण आवश्यक हुन्थ्यो, जुन सम्भव भएन।अर्कोतर्फ, ब्रिटिसले नेपाललाई चीनसँगको सन्तुलनका लागि छोड्यो भन्ने तर्क पनि गरिन्छ। यसमा केही रणनीतिक सोच अवश्य थियो, तर त्यो एकमात्र कारण होइन। नेपालले आफ्नो सैन्य क्षमता, भौगोलिक कठिनता र आन्तरिक एकता देखाइसकेको थियो। त्यसैले नेपाललाई केवल बाह्य शक्तिले जोगाइदिएको अस्तित्व मान्नु इतिहासको सरलीकरण हुन्छ।
भूटानदेखि काश्मिरसम्म नेपालको एकीकरण अभियानलाई बफर निर्माणको योजनाका रूपमा हेर्ने तर्क पनि उठ्छ। तर गहिरो रूपमा हेर्दा त्यो सोच उल्टो देखिन्छ। नेपालको लक्ष्य आफ्नो शक्ति विस्तार गर्नु थियो, अरू दुई शक्तिबीच निष्क्रिय बस्नु होइन। यदि नेपाल सफल भएको भए, आजको दक्षिण एशियाको शक्ति सन्तुलन नै फरक हुन्थ्यो। नेपाल विश्वकै एक शक्तिशाली मुलुक मात्र बन्दैन थियो नेपालको पहुँच मिडिल इस्ट सम्म हुन्थ्यो । त्यसैले एकीकरणको मूल उद्देश्य आत्मबल, विस्तार र सुरक्षा थियो, बफर बन्ने होइन।अब पृथ्वी नारायण शाहले भनेको दुई ढुङ्गाबीचको तरुल भन्ने भनाइतर्फ जाऔं। धेरैले यसलाई नेपालको कमजोर अवस्थाको प्रतीक ठान्छन्। तर गहिरो रूपमा हेर्ने हो भने, यो भनाइ चेतावनी र यथार्थबोध थियो। नेपाल संवेदनशील भूराजनीतिक स्थानमा रहेको छ, त्यसैले सन्तुलन, सतर्कता र कूटनीतिक बुद्धिमत्ता आवश्यक छ भन्ने सन्देश हो। यो आत्महीनता होइन, यथार्थको स्वीकार हो।
यसैले नेपाललाई बफर स्टेट भन्नु उपयुक्त होइन। त्यो शब्द बाह्य शक्तिको दृष्टिकोणबाट आएको हो, जसले साना राष्ट्रहरूको भूमिकालाई सीमित बनाउँछ। नेपाललाई त्यसरी परिभाषित गर्नु भनेको आफ्नो इतिहास र स्वाभिमानलाई सानो बनाउनु हो।अब प्रश्न उठ्छ, नेपालले आफैंलाई के भन्नेरु बफर भन्नु आत्महीनता झल्काउने शब्द हो। भाइब्रेन्ट ब्रिज भन्नु आकर्षक भए पनि अधुरो छ, किनकि यसले नेपाललाई केवल अरूलाई जोड्ने माध्यमका रूपमा सीमित गर्छ। नेपालका लागि उपयुक्त शब्द सन्तुलनकारी स्वाधीन शक्ति हुन सक्छ। यसले तीनवटा कुरा स्पष्ट गर्छ। पहिलो, नेपाल स्वतन्त्र छ। दोस्रो, नेपाल सन्तुलन राख्न सक्षम छ। तेस्रो, नेपाल निष्क्रिय होइन, सक्रिय भूमिका खेल्ने राष्ट्र हो। तथापि सरकारले प्रयोग गर्न चाहेको केही आक्रमक लाग्ने शब्द भए पनि भाइब्रेन्ट ब्रिजको ठाउँमा भाइब्रेन्ट कन्ट्री पनि भन्न सकिन्छ । भाइब्रेन्ट कन्ट्री भन्नाले सामान्यतया एउटा जीवन्त, गतिशील, उर्जावान देश भन्ने अर्थ दिन्छ। यो शब्दले सकारात्मक सन्देश त दिन्छ तर यसले नेपालको विशेष भूराजनीतिक अवस्थालाई चाहिं समेट्दैन। नेपाल किन महत्वपूर्ण छ, कसरी फरक छ, दुई ठूला शक्तिबीच यसको भूमिका के हो भन्ने कुरा यसले स्पष्ट पार्दैन। यो शब्द कुनै पनि देशका लागि प्रयोग गर्न मिल्ने सामान्य विशेषण मात्र हो। यसको विपरीत भाइब्रेन्ट ब्रिज भन्ने शब्दले नेपाललाई दुई ठूला अर्थतन्त्रबीच जोड्ने माध्यमका रूपमा प्रस्तुत गर्छ। यसमा अर्थ छ तर जोखिम पनि छ। यदि सावधानी अपनाइएन भने यसले नेपाललाई अरूका लागि मात्र प्रयोग हुने मार्ग जस्तो देखाउन सक्छ। सरकारले प्रयोग गर्न चाहेको शब्दमा स्वाधीन समेटिने हो भने पूर्ण बन्छ । त्यसैले प्रश्न केवल राम्रो सुनिने शब्दको होइन, सही अर्थ दिने शब्दको हो।
नेपालले आफ्नो भूराजनीतिक अवस्थालाई कमजोरी होइन, अवसरका रूपमा लिनुपर्छ। तर त्यो अवसर अरूका लागि मात्र बाटो खोल्ने होइन, आफ्नै राष्ट्रिय हित सुरक्षित गर्दै सहकार्य गर्ने हुनुपर्छ। सन्तुलनकारी स्वाधीन शक्ति भन्नाले यही अर्थ दिन्छ।अन्त्यमा कुनै राष्ट्रको पहिचान अरूले दिएको नामले होइन, उसले अपनाएको मार्गले तय हुन्छ। यदि नेपालले आफ्नो इतिहास, क्षमता र आत्मविश्वासलाई सही रूपमा उपयोग गर्यो भने, उसलाई बफर भनेर सीमित गर्ने कुनै आधार रहने छैन। सरकारले बफर शब्दलाई मस्यौदाबाट हटाएर १४ नम्बर बुँदालाइृ यसरी परिमार्जन गरेर राखोस, यस आधारमा यदि यसलाई छोटो र स्पष्ट रूपमा सुधार गर्ने हो भने, यस्तो ढाँचा अझ उपयुक्त देखिन्छ,
नेपाल आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सन्तुलनकारी स्वाधीन राष्ट्रका रूपमा उभिनेछ। छिमेकी राष्ट्रहरूसँग समानता र पारस्परिक हितका आधारमा आर्थिक सहकार्य, कनेक्टिभिटी र उत्पादनमूलक साझेदारी विस्तार गर्दै नेपाललाई क्षेत्रीय समन्वय केन्द्रका रूपमा विकास गरिनेछ। यस प्रक्रियामा नेपाल स्वतन्त्र, तटस्थ र असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै विश्वशान्तिमा योगदान पुर्याउनेछ।
यसरी लेख्दा नेपाल न त बफर देखिन्छ, न त केवल पुल। बरु आफ्नो शक्ति, सन्तुलन र स्वाभिमानसहित अघि बढ्ने राष्ट्रका रूपमा स्पष्ट हुन्छ।
#punyaprasai



























