
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्ध, शिक्षा क्षेत्रको सहकार्य तथा विकास साझेदारीलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।भेटका क्रममा विशेषगरी उच्च शिक्षामा अन्तरदेशीय शिक्षा व्यवस्थापन तथा दुई देशबीच शैक्षिक सहकार्य विस्तार गर्ने सम्भावनाबारे कुराकानी भएको थियो ।मन्त्री पोखरेलले अस्ट्रेलियाका गुणस्तरीय उच्च शिक्षा कार्यक्रमसँग सहकार्य र साझेदारीका लागि नेपाल सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक कानुनी व्यवस्था तथा नीतिगत सुधारका लागि पहल गरिने विश्वास व्यक्त गरे । उनले विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउने लक्ष्यसहित शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताए ।त्यस्तै, विद्यालय शिक्षा सुधारका लागि अन्य विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको मन्त्री पोखरेलको भनाइ थियो ।राजदूत अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशीय शिक्षा व्यवस्थापनप्रति चासो व्यक्त गर्दै अस्ट्रेलियाका उत्कृष्ट शैक्षिक कार्यक्रमहरूमा साझेदारी गर्न इच्छुक रहेको बताएका थिए ।


























