
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक गुणस्तर सुधार तथा प्रशासनिक सक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीन वटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ ।मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ तथा ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो ।शिक्षा नियमावली, २०५९ को नियम ७२ बमोजिम गठन गरिएको परिषद्ले शिक्षक, मन्त्रालयअन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न जनशक्तिको कार्यदक्षता अभिवृद्धि, नीति निर्माण र व्यवस्थापन सुधारका क्षेत्रमा काम गर्दै आएको छ ।मन्त्रालयका अनुसार, नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम कार्यान्वयनमा आएपछि प्रशिक्षकहरूको क्षमता अभिवृद्धि हुने र शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालयमा प्रभावकारी शैक्षिक नेतृत्व विकास गर्न सहयोग पुग्ने तथा विद्यालयको प्राज्ञिक र प्रशासनिक गुणस्तर सुधारमा टेवा पुग्ने मन्त्रालयको विश्वास छ ।यस्तै, शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारी तथा प्राविधिक सहायकका लागि स्वीकृत सेवाकालीन तालिम पाठ्यक्रमले सङ्घीयताको मर्मअनुसार तीनै तहका राष्ट्रसेवक कर्मचारीको क्षमता विकास गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ । यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



























