
काठमाडौं । खाना पकाउने ग्यास अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौंका सात स्थानबाट आज ग्यास सिलिन्डर बिक्री गरिने भएको छ ।नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा विभिन्न ग्यास उद्योगका सिलिन्डर बिक्री गर्न लागिएको हो । निगमका अनुसार टेकुस्थित निगम परिसर, बूढानीलकण्ठ–चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजारको जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट ग्यास बिक्री गरिनेछ ।टेकुबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री हुनेछन् । चपलीबाट नेपाल, एचपी र भानु तथा कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन् ।त्यसैगरी, नयाँ बजारबाट नेपाल, एचपी र ओम तथा तारकेश्वरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ । चन्द्रागिरीबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री हुने निगमले जनाएको छ ।ग्यास आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री–वितरण गरिरहेको निगमको भनाइ छ । तर, विक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्नेछन् ।निगमले उक्त बिक्री केन्द्रबाट अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ ।


























