
बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर उत्पन्न तनाव पाँचबुँदे सहमतिपछि साम्य भएको छ ।पीडित पक्ष र प्रशासनबीच बिहीबार राति भएको वार्ता सफल भएपछि घटनाको विरोधमा हुँदै आएका आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो ।भदौ २ गते भएको घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समिति, बाराका पदाधिकारीबीच पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा लामो छलफल भएको थियो ।वार्तामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीका लागि स्थानीय तहको सहभागितामा गृह मन्त्रालयसमक्ष सिफारिस गरी पहल गर्ने सहमति भएको छ । त्यस्तै, घटनाको अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता पुष्टि भएमा उनीहरूमाथि पनि कानुनबमोजिम कडा कारबाही गर्ने सहमति भएको छ ।जिल्लाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी नागरिकलाई भरपर्दो सुरक्षा वातावरण उपलब्ध गराउने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने सहमति पनि भएको छ ।इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा कार्यसम्पादनमा लापरबाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने मागसमेत पूरा गर्ने सहमति भएको जनाइएको छ ।पाँचबुँदे सहमति कार्यान्वयन हुने सुनिश्चिततापछि सहमति भएकै मितिदेखि आन्दोलनका सम्पूर्ण विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले वार्तामा भएको छलफल र पाँचबुँदे सहमतिको पुष्टि गर्दै अवस्था सामान्य बन्दै गएको जानकारी दिए । उनका अनुसार माग सम्बोधन हुने सुनिश्चितता पाएपछि प्रशासन र पीडित पक्ष आन्दोलन रोक्न सहमत भएका हुन् ।


























