
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित अंकतालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। आजको खेल जित्ने टोलीले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।यता, जनकपुर र चितवनलाई पनि प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब छ। दुई खेल बाँकी रहेको चितवनका लागि अबका दुवै खेल महत्वपूर्ण छन्। पाँच खेलबाट ५ अंक जोडेको चितवनलाई प्लेअफ दौडमा रहिरहन जित आवश्यक छ।त्यस्तै, पाँच खेलबाट ४ अंक जोडेको जनकपुरले आजको खेल जिते ६ अंक पुर्याउनेछ। तर, प्लेअफमा पुग्न जनकपुरले आफ्नो जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर रहनुपर्नेछ।



























