
काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम तीव्र पारिएको छ ।पछिल्ला वर्षमा काठमाडौंमा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि उपत्यकाका विभिन्न १७ स्थानमा छठ पूजाका लागि आवश्यक तयारी भइरहेको छ ।गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ घाट निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने धार्मिक परम्परा छ । चार दिनसम्म विभिन्न विधि र आस्थाका साथ मनाइने यस पर्वमा व्रतालु नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् ।गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । घाटमा पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने तथा आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।“काठमाडौंमा पनि छठ मनाउने परम्परा बढ्दै गएको छ । हामीले तयारी अन्तिम चरणमा पुर्याएका छौँ । अहिले पाल टाँग्ने र सरसफाइ गर्ने काम भइरहेको छ,” सिंहले भने ।उनले अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने छठ पर्वको धार्मिक महत्व ठूलो रहेको बताए । मनोकामना पूरा हुने विश्वासका साथ पनि छठको व्रत बस्ने परम्परा रहेको उल्लेख गर्दै उनले व्रतालुलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन आफूहरू जुटेको बताए ।काठमाडौंमा छठ पर्व मनाइने प्रमुख स्थानमा गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन् ।त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुस्थित बाइसधारामा पनि छठ पूजा गरिँदै आएको छ ।काठमाडौं महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ । बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिन्छ ।छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुनेछ ।



























