
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताउनुभएको छ ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने बताउनुभएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले समस्याको समाधान हुने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।”गृह मन्त्रालय आफैँले पाउनुपर्ने भन्दै रास्वपाले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहनुभएका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आउनुभएको छ । सोही प्रसङ्गमा प्रधानमन्त्रीले सबै पक्षसँग कुरा हुने बताउनुभएको हाे ।Source: Gorkhapatra




























