
प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका चार प्रहरी अधिृकतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच एआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को यही चैत २४ गतेको निर्णयानुसार उनीहरू पदोन्नति भएका हुन् ।समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गरी प्रहरी संगठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक बन्न आग्रह गरे ।महानिरीक्षक कुँवरले भने, “सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारी मनग्यै छन् । तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु ।”प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुन सक्ने उल्लेख गर्दै माथिल्लो विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताए । साथै, सम्भावित अराजकतालगायत कानुनविरुद्धका गतिविधिको आकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उनले प्रहरी अधिकृतलाई निर्देशन समेत दिए ।समारोहमा पदोन्नति भएकाको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यबोधको थप ऊर्जा प्राप्त भएको तथा संगठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिबद्ध रहने विचार व्यक्त गरे ।उनले संगठनप्रति सदैव इमानदार, बफादार र पेसागत व्यावसायिक निष्ठा कायम राखी प्रचलित कानुनबमोजिम विधिको शासन कायम गर्न/गराउन सदैव कृत संकल्पित रहने प्रतिबद्धता व्यक्त गरे । रासस




























