
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । भानु नगरपालिका –२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. कोइरालाले सो कुरा बताउनुभएको हो ।नेता तथा कार्यकर्तालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ लाग्न उहाँले आग्रह गर्नुभयो । गुटबन्दीरहित बनाएर एकतावद्ध रुपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विराशतलाई कायम राख्नुपर्ने उहाँको भनाइ छ । पार्टीभित्र असन्तुष्टि रहे पनि पार्टीलाई एकतावद्ध भएर कांग्रेस अघि बढिरहेको उहाँले बताउनुभयो ।तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ताले बिर्सिएर निर्वाचनमा एक ढिक्का हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराई राजनीतिमा समर्पित, त्यागी, इमानदार र अवसर नपाएको नेता भएको चर्चा गर्नुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ –१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति संकेत गर्दै भन्नुभयो, ‘सावधान हुनुहोला अवसरवादीबाट जोगिनुहोला । तनहुँको राजनीतिक विरासतलाई कायम राख्न गोविन्द भट्टराईलाई जिताउनुपर्छ ।”




























