
काठमाडौं । नेशनल पिपुल्स पावर (एनपीपी) की सांसद डा.हरिनी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् ।उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
२२५ सदस्यीय संसदमा एनपीपीका डा.अमरासूर्यासँगै विजिथा हेराथ र लक्ष्मण निपुण अराग्ची दुईजना मात्र सांसद निर्वाचित भएका थिए ।राष्ट्रपति दिशानायकेले अमरासूर्यालाई प्रधानमन्त्री र हेराथलाई मन्त्री नियुक्त गरेका छन् । साथै उनले आजै मध्यरातबाट संसद भंग गर्ने श्रीलंकाली सञ्चार माध्यमहरुले जनाएका छन् ।रक्षा, अर्थसहितका मन्त्रालय राष्ट्रपति दिशानायकेले आफैंसँग राखेका छन् । प्रधानमन्त्री अमरासूर्यालाई शिक्षा, विज्ञान र प्रविधि लगायतका मन्त्रालय दिइएको छ भने विदेश मामिलासहितका मन्त्रालय हेराथलाई दिइएको छ ।




























