
सुन्दर, स्वच्छ र हरियाली राष्ट्रको कल्पनासहित विशेष स्वच्छता अभियान ‘क्लिन अप प्रिमियर लिग २०२३’ सुरु भएको छ । विश्व पृथ्वी दिवसको सन्दर्भ पारेर सो लिगको शुभारम्भ गरिएको हो ।नयाँ पुस्तामा पुरातात्विक सम्पदा क्षेत्रको सरसफाइ तथा वातावरण र पर्यावरणप्रति सचेतना जगाउने मूल उद्देश्यसहित शनिबार राजधानीमा कार्यक्रमको आयोजना गरी सो प्रिमियर लिगको शुभारम्भ गरियो । मिस नेपाल वल्र्ड प्रियाङ्कारानी जोशीले सो लिगको शुभारम्भ गर्नुभयो ।लिगको शुभारम्भ गर्दै उहाँले कुनै सहर विशेषलाई मात्र नभई सिङ्गै मुलुकलाई नै सरसफाइ गर्ने अभियान सञ्चालन गर्नुपर्ने आवश्कता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आज हामी गाउँघर सहर सफा राख्छौँ । वातावरण जोगाउँछौँ भने हाम्रा सन्ततीले त्यसको सिको गर्छन् र भविष्यमा हामीले सरसफाइ अभियान र लिगको आयोजना गरिरहनु पर्दैन ।” नेपाल टेलिकम र मैनादेवी फाउन्डेसनको संयुक्त आयोजनामा उक्त लिगको आयोजना गरिएको हो । सो अवसरमा नेपाल टेलिकम र भद्रकाली क्षेत्रमा परिक्रमासमेत गरिएको थियो ।नेपाल टेलिकमका प्रबन्धक रिना डङ्गोलले ‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नारासहित आयोजना गरिएको सरसफाइसम्बन्धी यस लिगले काठमाडौँलाई सफा सुन्दर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । मैनादेवी फाउन्डेसनका संयोजक केपी खनालले सरसफाइको नयाँ अवधारणासहित सुरु गरिएको यो लिगको समापन विश्व वातावरण दिवसको दिन गरिने जानकारी दिनुभयो ।
कुनै सहर विशेषलाई मात्र नभई सिङ्गै मुलुकलाई नै सरसफाइ गर्ने अभियान सञ्चालन गर्नुपर्ने आवश्यकताउहाँका अनुसार यस लिगअन्तर्गत राजधानीका १५ वटा कलेजका विद्यार्थीको संलग्नतामा हरेक हप्ताको शुक्रबार र शनिबार विभिन्न सम्पदा क्षेत्रहरूमा सरसफाइ कार्यक्रमको आयोजना गरिनेछ । सरसफाइ गरेका आधारमा सहभागी कलेजलाई हरेक हप्ता अङ्क प्रदान गरिनेछ । जेठ २२ गतेसम्म सरसफाइ कार्यक्रम निरन्तर चलिरहनेछ ।अन्तिम हप्तासम्ममा सबैभन्दा बढी अङ्क ल्याउने कलेजमध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमशः एक लाख, पचास हजार र पच्चीस हजार रुपियाँ नगदसहित पुरस्कृत तथा सम्मानित गरिनेछ । वातावरण दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा पुरस्कृत र सम्मानित गरिनेछ । यस वर्ष जेठ २२ गते विश्व वातावरण दिवस परेको छ ।




























