
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सुरक्षा बलले इस्लामावाद उच्च अदालत परिसरबाट पक्राउ गरेको छ ।भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए । अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई नियन्त्रणमा लिएर बख्तरबन्द गाडीमा राखेका थिए ।इस्लामाबादका महानिरीक्षक अकबर नासिर खानले एक विज्ञप्ति जारी गर्दै इमरान खानलाई अल-कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन् । उनले पक्राउ पर्नु सामान्य रहेको बताएका छन् ।खानको पक्राउ पुर्जी मे १ मा नेशनल अकाउन्टिब्लिटी ब्यूरो अध्यक्ष लेफ्टिनेन्ट जनरल नाजिर अहमदले जारी गरेका थिए । यसमा इमरान खानलाई एनएबी अध्यादेश १९९९ को धारा ९ए अन्तर्गत भ्रष्टाचारको आरोप लगाइएको छ ।पक्राउ परेका खानलाई सोधपुछका लागि अदालतमा पेश गरिने बताइएको छ ।




























