
पुरुषोत्तम बस्नेतको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, कांग्रेसका धरोहर बस्नेतको ७८ वर्षको उमेरमा शुक्रबार बिहान ४ बजे सिफल हाइट, काठमाडौँमा निधन भएको हो ।शोक विज्ञप्तिमार्फत सभापति देउवाले शुक्रबार उनको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् । लेखक तथा साहित्यकार बस्नेतको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै सभापति देउवाले कांग्रेस र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पु¥याएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहने बताएका छन् ।नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्वसभापतिसमेत रहेका बस्नेत हाल जननायक बिपी कोइराला स्मृति ट्रष्टका कोषाध्यक्ष थिए ।गोरखापत्र संस्थानको पूर्व कार्यकारी अध्यक्ष समेत रहेका बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए ।लामो समयसम्म कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्वपूर्ण कृति लेखेका छन् । लामो समयसम्म कांग्रेसको प्रेस प्रमुख र पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेका थिए ।कांग्रेसको इतिहासका जानकार बस्नेतले राजनीतिक जीवन यात्राका विभिन्न समयमा नौ वर्ष जेल जीवनसमेत व्यतित गरेका थिए । उनको निधनबाट कांग्रेसले एक असल, अनुभवी, इतिहासका जानकार व्यक्तित्वलाई गुमाएको छ ।उनको पार्थिव शरीरलाई आजै अपराह्न २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पार्टी कार्यालयले जनाएको छ । स्व बस्नेतप्रति सम्मान प्रकट गर्दै बैशाख २९, ३० र ३१ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाइने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।




























