
एउटा मेयरले चाहँदा धेरै कुरा गरेर जनतामा आशा जगाउन सकिने रहेछ भन्ने पछिल्लो उदाहरण बनेका छन् काठमाण्डौका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ । २६ किलोमिटरबाट पाइप लाइन ओछ्याएर मेलाम्चीको पानी नेपालको भ्रष्ट सरकारले २६ वर्षमा ल्याउन सकेन । अहिले पनि ३ महिनाका लागि भनेर मेलाम्चीको पानी रोकिएको छ । र, अहिले पनि सरकार र उसका इन्ट्रेष्ट ग्रुप मिलेर मेलाम्चीको नाममा करोडौं दोहन गरिरहेका छन् । जबकी साहारा मरुभूमिमा यो भन्दा कैयौ गुणा विशाल लगभग ४ हजार किलोमिटरको पाइपलाइनबाट नहर बनाएर लिबियाका तात्कालिन शासक गद्दाफीले लिबियामा सिंचाइ नै गरेका थिए । त्यो पनि १ डलर विदेशी सहयोग नलिई ।
यहीको उदाहरण दिने हो भने पनि १ रुपैयाँ सरकारी पैसा नलगाई १ वर्षमा धरानका मेयर हर्क साम्पाङले ४० किलोमिटर टाढाको कोको नदीबाटपानी ल्याएर धरानका जनतालाई नुहाएका छन् । यी २ उदाहरणबाट नै हामी बुझ्छौं नेपालमा नेताहरु सत्तामा पुगेर कसरी ब्रह्मलुट गरिरहेका छन् !
अर्कोतिर काठमाण्डौका मेयर बालेन शाह शहरलाई सफा र व्यवस्थित बनाउन मात्र लागिरहेका छैनन् उनी इण्डियाको ठाडो हस्तक्षेप विरुद्ध कठोर रुपमा प्रस्तुत भएर नेपाली युवामा केही हुन्छ र गर्न सकिन्छ भन्ने आशाको संचार समेत गरिरहेका छन् । अखण्ड भारत भन्दै संसद भवनमा नेपाली भूभाग मिचेको तस्वीर झुड्याउने मोदी सरकारलाई बालेनले एक शब्द नबोली आफ्नो कार्यालयमा सुगौली सन्धीभन्दा अघिको नेपालको नक्शा टाँसेर पूरा इण्डियालाई नेपालको गौरवलाग्दो इतिहासको पाठ पढाउन सकेका छन् । नेपालभित्र बसेर इण्डियन दुतावासबाट मासिक तलब बुझ्ने दलाललाई यस कुराले टाउको दुखाइ भएको हामीले सामाजिक संजालमा प्रशस्तै देख्यौं । उनीहरुले अखण्ड भारतको नक्शाको बचाउमा उतैबाट आयतित तर्क दिँदै बालेनको खिल्ली उडाए तर नेपाली जनताले भने बालेनको हिम्मतको कदर गरे । भर्खरै अर्को काण्ड आयो । नेपाली भूगोलमाथि त इण्डियाको कुदृष्टि छँदै थियो ।
लिपुलेक, कालापानी, लिम्पियाधुरा सहित नेपालको सयौं वर्गकिलोमिटर भूमि उसले अतिक्रमण गरेको त छँदै थियो । उसैगरी इण्डिया नेपालको पहिचान मेटाउन नेपाली संस्कृतिको अतिक्रमणमा पनि उतिकै सक्रियताका साथ लागेको छ । हिजो बुद्ध भारतमा जन्मेको भनेर इण्डियाले संसारमा भ्रम छर्यो र अहिले पनि भ्रम छरि नै रहेको छ त्यसमा अब त सीता पनि इण्डियामा जन्मेको भनेर सिनेमा मार्फत इण्डिया अर्को भ्रम छर्न थालेको छ । इण्डियाको दलालीमा मग्न सेन्सरबोर्डले आदिपुरुष नामक सिनेमामा सीतालाई इण्डियामा जन्मेको भनेर देखाइएका त्यस्ता भ्रामक सिन नकाटीरहेको बेला बालेन शाहले पछिल्लो समयमा गलत म्यासेज सम्प्रेषण गर्ने आदिपुरुष जस्ता सिनेमा मात्र होइन त्यो नसच्याए कुनै पनि हिन्दी फिल्म चल्न नदिने निर्णय गर्ने हिम्मत गरेर नेपाली युवालाई उत्साहित मात्र गरेको छैन नेपाल र भारतको सम्बन्ध बिगार्न लागिपरेका तत्वलाई ठाडो चुनौति दिँदै इण्डियन जनतालाई सच्चा इतिहास बुझ्नमा अभिप्रेरित समेत गरेका छन् । तर हलवालाहरु उनको यस निर्णयलाई चुनौति दिइरहेका छन् ।
गलत सिन काट्ने कुरा छोडेर बलात फिल्म चलाउन खोजिरहेका छन् । यस्ता इण्डियन दलाल सिनेघर मालिकलाई तह लाउन बालेनलाई सम्पूर्ण नेपाली जनताले हौसला दिन जरुरी छ । सरकार इण्डियाको लाचार छाँया बनिरहेको वर्तमान परिप्रेक्ष्यमा स्थानीय सरकार मार्फत बालेन शाहले लिएको यो अग्रसरता कदर योग्य त छँदैछ स्वयम् सरकार पनि जनताको भावना अनुसार कार्य गर्नै पर्ने दवावमा परेको छ । उडाउनेहरु यसलाई स्टन्टबाजी भनेर बालेनको खिल्ली उडाउन खोज्छन् तर उनीहरुलाई जनताको जवाफ छ, यो स्टन्टबाजी हो भने तिमीहरु पनि देश र जनताको हितमा स्टन्टबाजी गर हामीलाई स्वीकार छ । र, अन्त्यमा अहिले इण्डियामा अखण्ड भारतको नक्शाको भन्दा ग्रेटर नेपालको चर्चा छ । चर्चा मात्र होइन अहिले बालेनको कारणले इण्डियन जनता नेपालको गौरवशाली इतिहास पढ्न र बुझ्न पनि लागेका छन् । तर तत्कालै आएको सीतामाताको जन्मस्थलको विवाद र बालेनले ३ दिनभित्र आदिपुरुषको सिन नकाटे हिन्दी सिनेमाको प्रदर्शन रोक्ने निर्णयपछि इण्डियन शासक भने बालेनलाई कन्ट्रोल गरेर साइजमा ल्याउने सूत्र खोजिरहेका छन् ।




























