एउटा सानो कमिलोलाई विशाल हात्ती देख्दा कस्तो लाग्दो हो ? अनि ल्याम्बोगिनीमा हुँइकिरहेको बूढो बिल गेट्सलाई कपाल उडाउँदै साइकल कुदाइरहेको गाउँले ठिटो देख्दा कस्तो सोच आउँदो हो ? म यहाँ नजन्मेर अमेरिकामा जन्मेको भए ? एक पटक फेरि सानो भएर जीवन शुरु गर्न पाए ? अर्को जन्म होला कि नहोला हुने भए तपाईं कुन देशमा कसको सन्तानको रुपमा जन्मन चाहनु हुन्थ्यो ?
पुण्यप्रसाद प्रसाई
लक्ष्मीप्रसाद देवकोटा जस्तो कवि नेपाली साहित्यमा फेरि जन्मिएन, न त विश्वेश्वरप्रसाद कोइराला र मदन भण्डारी जस्तो नेता नै पायौं हामीले । म भोला रिजाल वा भगवान् कोइराला जस्तो डाक्टर बन्न चाहन्छु । अर्थात् अनुराधा कोइराला जस्तो समाजसेवी बन्न चाहन्छु । हामी सबैलाई आफू जस्तो होइन, अरु नै कोही जस्तो हुन मन लाग्छ । हामीमा तुलना गर्ने बानी छ, अनि हीनताबोध गर्छौं । के तुलना गरेर हामीमा विवेक आउन सक्छ ? हामी आफ्नो कमजोरी र अँध्याराको कुरा गर्न मनपराउँछौं । किनकि हामीले आफ्ना राम्रो देखेकै छैनौं, कस्तूरीले आफ्ना बास्नादार बिना नदेखे जस्तो । अँध्यारो भयानक हुन्छ र दियोको ज्योति सानो, तर त्यति ठूलो अन्धकारभन्दा त्यो सानो दियोमा हाम्रो आस्था छ किनकि भयानक अन्धकार भगाउन त्यही सानो दियो काफी छ । आज तपाईं जुन अवस्थामा हुनुहुन्छ, तपाईंको शारीरिक अवस्था जस्तो छ; तपाईं जुन वर्ग, जाति, समुदाय वा समाजको प्रतिनिधित्व गर्नुहुन्छ; तपाईंको शैक्षिक अवस्था जस्तोसुकै होस्, यी कुरालाई लिएर तपाईंले आफूलाई कमजोर ठान्नुपर्ने कुनै आवश्यकता छैन । तपाईं ठानिरहनु भएको होला, म अरुभन्दा फरक छु, यही मेरो कमजोरी हो । तर त्यस्तो कदाचित होइन । अस्तित्वले गल्ती गरेको छैन । उसले गल्ती गर्दै गर्दैन । उसको काम गर्ने तरिका मात्र फरक हो । वास्तवमा तपाईंलाई अस्तित्वले केही फरक नै रचेको हो । किनकि तपाईंलाई माध्यम बनाएर अस्तित्व यो संसारमा केही सन्देश, केही सुसमाचार छोड्न चाहन्छ । आफ्नो यो विशिष्टतामा चिन्ता वा दुख होइन, खुसी हुनुहोस् र गौरव गर्नुहोस् । एक दिन यही विशिष्टता तपाईंका लागि वरदान साबित हुनेछ ।