
नेपाल सरकार र नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) बीच संयुक्त समीक्षा सम्पन्न भएको छ । दुई निकायबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरू बीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा यो कार्यक्रम एक असाधारण मञ्च साबित भएको छ ।अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त समीक्षा २०२३ ले नेपालमा विकासका चुनौतीलाई सम्बोधन गर्न र नेपाली नागरिकको हितका लागि रणनीतिलाई पङ्क्तिबद्ध गर्न संयुक्त प्रयासलाई बढावा दिएको छ ।कार्यक्रमले नेपाल सरकार र नेपाली जनतासँगको युएसएआईडीको साझेदारीमार्फत हासिल भएका महत्त्वपूर्ण उपलब्धिहरू माथि प्रकाश पार्दै साझा विकास लक्ष्यहरूमा थप सहकार्यका लागि क्षेत्रहरू पहिचान गरेको छ । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा बैठक सम्पन्न भयो ।बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गर्दै वर्षौंदेखिको नेपाल–अमेरिका साझेदारीको स्मरण गर्नुभयो ।मन्त्री महतले नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।त्यस्तै, अमेरिकी राजदूत डीन थम्पसनले विकासका विभिन्न क्षेत्रमा नेपाल–अमेरिकाबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।यूएसएआईडीको सहयोग सम्झौता अन्तर्गत सञ्चालित आयोजनाहरुको आजसम्मका उपलब्धिहरू, कोष प्रवाह, स्थानीय संस्थाहरूको उपयोगमा बजेटमा बढेको जोड साथै यस अवधिमा भूमिका र जिम्मेवारीहरू स्पष्ट गर्दै नेपाल अमेरिकाबीच साझेदारीलाई सुदृढ पार्नु यस समीक्षा बैठकको उद्देश्य रहेको थियो ।बैठकमा अर्थमन्त्री डा. महत, अर्थ सचिव अर्जुनप्रसाद पोखरेल, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, युएसएआईडीका मिसन निर्देशक सेपिदेह किभनशाद, मन्त्रालयका अधिकारीहरू, युएसएआईडीका पदाधिकारीहरू लगायतको उपस्थिति थियो ।विकास उद्देश्य सम्झौताबाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने व्यवस्था छ ।नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले संयुक्त पोर्टफोलियो समीक्षाको महत्त्वमाथि जोड दिनुहुँदै भन्नुभयो, “आजको संयुक्त पोर्टफोलियो समीक्षाले हाम्रा संयुक्त उपलब्धिहरू र सिकाइहरू आदानप्रदान गर्नका निम्ति उत्कृष्ट मञ्च प्रदान गरेको छ । हामी स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिका सशक्तिकरण, विपद् जोखिम व्यवस्थापन, सुशासन, वातावरण, नागरिक समाज एवम् मिडिया र व्यापार विकास जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा हाम्रो साझेदारीलाई अझ सबल बनाउन सहयोगका भावी क्षेत्रहरूबारे छलफल गर्न यहाँ जम्मा भएका छौँ ।’’संयुक्त पोर्टफोलियो समीक्षामा उद्घाटन र प्राविधिक सत्र गरी दुई वटा महत्त्वपूर्ण सत्रहरू समावेश थिए । उद्घाटन सत्रमा नेपालका माननीय अर्थमन्त्री डा. प्रकाशशरण महत, राजदूत थम्पसन र युएसएआईडी नेपालका मिसन निर्देशक सेपिडे केभान्शाडले आआफ्ना मन्तव्य राख्दै फलदायी छलफल र नतिजाका लागि माहोल तयार पार्नुभएको थियो ।युएसएआईडी नेपाल र नेपाल सरकारले आफूहरू बीचको साझेदारीलाई अझ गहिरो बनाउन र नेपाली जनताका लागि सकारात्मक परिवर्तनलाई बढावा दिन प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त पोर्टफोलियो समीक्षाले पारदर्शिता, सहयोग र जवाफदेहिताका सिद्धान्तहरूमाथि पुनः जोड दिँदै राष्ट्रका लागि थप समृद्ध र दिगो भविष्यतर्फ सामूहिक प्रयासहरूलाई निर्देशित गर्दछ ।




























