
वीरगंज । उपप्रधान तथा गृहमन्त्री नारायणकारी श्रेष्ठले गौर हत्या काण्ड प्रकरणमा पिडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने,’ पिडित पक्षसंग सरकारले गरेको ५ बँुदे सहमतिमा उल्लेख भए अनुसार घटनाका बेलामा परेका जोहरीसमेतको आधार बनाएर समग्र छानबिन गरि दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याएर सम्बन्धित निकायले यो प्रकरणलाई निष्कर्षमा पुरयाउँछ । रौतहटको गौर स्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरम बिच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत पिडित पक्ष र गृहमन्त्रालयबिच गत साउन २३ गते ५ बुँदे सहमति भएको थियो । गृहमन्त्री श्रेष्ठले गौर हत्या काण्ड प्रकरणका पिडित पक्षसंग गृहमन्त्रालयले गरेको पाँच बुँदे सहमतिबाट सरकार पछाडि नहटेकोपनि प्रष्ट पारे ।श्रेष्ठले भने,’ सरकार कानूनी शासनलाई स्थापित गर्न प्रतिबद्ध छ। कुनैपनि सन्दर्भमा काुननको उल्ल्ंघन हुन दिदैनौ । गौर हत्याकाण्डका पिडित पक्षसंग भएको सहमति अनुसार त्यसमा छानबिन हुदैंछ । गृहमन्त्री श्रेष्ठले गिरीबन्धु टि स्टेट प्रकरण बारेपनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारीपनि गराए । अहिलेको सरकार मुख्यत सुशासन , समृद्धि र सामाजिक न्याय स्थापित गर्न केन्द्रित रहेको उनले बताए । उनले भने,’ मुलुकमा यत्रो ठूलो राजनीतिक परिवर्तन त भयो तर आम जनताले यत्रो ठूलो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीको साँच्चिकै अनुभूती गर्न नपाएको हाम्रो निष्कर्ष छ ।त्यसैले मुलुकमा सुशासन स्थापित गरी समृद्धिको यात्रा तर्फ अगाडि बढाउँदै राजनीतिक परिवर्तनका उपलब्धीको अनुभूती जनतालाई गराउने संकल्पका साथ सरकार अगाडि बढिरहेको उनले बताए । मिटरब्याजी विरुद्धको कानुन निर्माण , नक्कली भुटानी शरणार्थी प्रकरण संलग्नलाई कारबाही , ललिता निवास र सुन तस्करी प्रकरणमा चलिरहेको अुसन्धान लगायतका कामले नै सरकार सुशासनको दिशामा बढेको कुरा प्रष्ट भएको उनले बताए । धरानमा गौ हत्याको विषयलाई लिएर भइरहेको पछिल्लो घटनाक्रम बारे गृहमन्त्री श्रेष्ठले मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको बताए । उनले भने,’ यस घटनामा संलग्नहरुलाई संविधान र कानुन अनुसार कारबाही हुन्छ नै । त्यसका लागि प्रकृया अगाडि बढिसकेको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस सेन्टरका केन्द्रिय सदस्यद्वय निरज पिठाकोटे मगर र जगत राईका साथै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताकोपनि उपस्थिती थियो ।




























