सन् १९५२ को अन्तिम महिनाको पहिलो दिन थियो । जियाङ्ग्सू प्रान्तमा मजदुरहरु खेलको मैदान बनाउने काममा व्यस्त थिए । किनकि यो मैदान विक्सिङ शहरको जिंग्वी माध्यमिक विद्यालयको लागि बनाउनुपर्ने थियो, यसैले त्यसको लागि जमिनको छनोट धेरै सोचविचार गरेर गरिएको थियो । जमिनको जुन टुक्रा रोजिएको थियो त्यो एक पहाडले घेरिएको थियो र त्यसमा चार डाँडाहरु थिए । मजदुरको लागि ती डाँडाहरु हटाउनु साँच्चै कठिन काम थियो । जे होस्, मजदुर सधैंझैं आफ्नो काममा व्यस्त थिए, तब एक मजदुर अचम्म मान्दै करायो, किनकि उसको कोदालो कुनै पातलो पत्रसँग ठोकिएको थियो । त्यहाँ एक प्वाल देखिरहेको थियो । सबै त्यसभित्र हेर्न थाले र अँध्यारोमा पनि सबैले त्यो प्वालभित्र केही अनौठो वस्तु देखे । सीधा सोझा मजदुरहरु धेरै डराए । उनीहरुले तुरुन्त पुलिसलाई बोलाए । पुलिस अधिकारी त्यो प्वालमा गए र उनीहरुले सबैलाई यो कुरा भनेर अचम्ममा पारे कि यो एक धेरै ठूलो पुरातत्व सम्बन्धी खोज थियो । यसपछि त्यो स्थानलाई सिल गरियो र छिट्टै त्यहाँ अनेकौं पुरातत्ववेत्ता पुग्न थाले । यहाँ खन्ने कार्य शुरु गरियो । तब तुरुन्तै यो कुरा स्पष्ट भयो कि त्यो स्थलमा एक चिहान थियो र त्यहाँ एक मात्र हैन दुई चिहान थिए । यी चिहानहरु धेरै विचित्र तरिकाले बनाइएका थिए । दुवै चिहानमा एक कोठा थियो, जसको छत गोलाकार थियो र त्यो तीन कुने इँटले बनेको थियो । त्यसमा एक चौकोर ढुङ्गा राखिएको थियो । भुइँमा केही इँट थिए र छतमा जनावरको अनुहार बनेको थियो ।
चिहानको समय निश्चित गर्न पनि सजिलो थियो । एक चिहानमा लेखिएको थियो, “बीस सेप्टेम्बर, युआन कांगको सातौं वर्ष स्वर्गीय जनरल माऊ...” र दोस्रो चिहानमा आधिकारिक पदवीहरु र हस्ताक्षर खोपिएको थियो । यसबाट पुरातत्ववेत्ताले निश्चित गरे कि यो एक महान् सेनाध्यक्ष र विद्वान माय चु को चिहान थियो होला । माऊ २६५ देखि ४२० ई. मा जुन साम्राज्यको समयमा भएका थिए । उनी एक महान् सेनाध्यक्ष थिए, जो २९७ ई. मा तिब्बतीहरुसँग लडेर शहीद भएका थिए ।
जेसुकै होस्, त्यो त केवल ऐतिहासिक तथ्य थियो तर दुनियाँलाई जुन कुराले साँच्चै नै अचम्ममा पारेको थियो त्यसको सम्बन्ध चिहानमा पाइएको धातुको टुक्रासँग थियो । शुरुमा त यसलाई बेकारको कुरा नै मानिएको थियो । तर त्यसको रासायनिक परीक्षणको नतिजाले दुनियाँलाई अचम्मित बनाइदियो । यो शुद्ध आल्मुनियमको टुक्रा थियो । यो एक विस्मयकारी तथ्य थियो, किनकि पश्चिमी दुनियाँलाई १९ औं शताब्दीको प्रारम्भभन्दा पहिला आल्मुनियमको कुनै जानकारी थिएन । यो खोजले इतिहासकारलाई यो सोच्न बाध्य बनायो–के चीनका मानिस युरोपका मानिसभन्दा विकसित थिए ? दोस्रो, के चिनियाँहरुलाई विद्युत–उत्पादनको जानकारी थियो, जसमा आल्मुनियमको प्रयोग हुन्छ ?
संशयवादी यो कुरामा विश्वास गर्दैनथे कि त्यो कालमा आल्मुनियमको उत्पादन गरिएको थियो । यहाँसम्म कि चिनियाँ इतिहासकार पनि यसको सत्यतामा शंका व्यक्त गर्छन् । केही आलोचकको भनाइ छ, पछि सायद चिहान चोरले त्यो यहाँ खसाएको होला । विश्व यो कुरा मान्न तयार थिएन कि चीनका मानिस आल्मुनियमको उत्पादन गर्न जान्दथे ।
सेन्ट ऐन्डूज विश्वविद्यालयका शोधकर्ताले सन् १९८० मा एक विस्तृत सर्भे गरे र यो निर्णयमा पुगे कि यो सारा खोज एक झूठ थियो । तर सन् १९८५ मा चिनियाँ भूगर्भवेत्ताले यो दावा गरे कि उनले श्री माऊ प्रान्तमा नेटिभ आल्मुनियम पाइएको थियो । नेटिभ आल्मुनियम एक दुर्लभ वस्तु हो, र धेरै कम स्थानमा पाइएको छ । हालैमा भएको यो चिनियाँ खोजले आल्मुनियमको विवादलाई अझ ताजा गरिदिएको छ । यसबाट यो तथ्य साँचो हुने संभावना बढेको छ कि चिहानमा पाइएको आल्मुनियम प्रामाणिक थियो ।