अर्थमन्त्री वर्षमान पुनले नीति कार्यक्रम अनुसारकै बजेट र मौद्रीक नीति सार्वजनिक हुने बताउनुभएको छ ।नेपाल उद्योग बाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम उत्साहजनक रहेको भन्दै उक्त कार्यक्रम कार्यान्वयन हुने गरि बजेटका साथै मौद्रीक नीति आउने बताउनुभएको हो । बजेट समेट्न नसक्ने बिषयहरुलाई यस बर्ष नीति तथा कार्यक्रममा समावेश नगरिएको उहाको भनाइ छ । उहाले सरकार मुलुकमा लगानी मैत्री बातावरण बनाउनका लागि प्रतिवद्ध रहेकोले सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । मन्त्री पुनले रोजगार र उत्पादनका साथै सम्भावना बोकेका क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीमैत्री वातावरण बनाउनका लागि कर प्रणालीलाइ पुर्नबिचार गर्न सुझाव दिनुभयो । आन्तरिक श्रोतको सिमिततासंगै वैदेशिक सहायतामा समेत कमी आइरहेको सन्दर्भमा स्वदेशी एवं वैदेशिक लगानी र प्रविधि आकर्षित गर्न लगानी प्रवद्र्धन दशकका रुपमा आगामी बर्षदेखि विशेष कार्यक्रम संचालन गर्नुपर्ने उहाले बताउनुभयो ।उहाले कुनै लगानीकर्ताले नाफाको ४० प्रतिशत भन्दा बढि पुर्नलगानी गरेमा आयकरमा छुट दिइनु पर्ने बताउनुभयो । विस्तृत लेखापरीक्षण दुई वर्ष भित्रमा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था हुनुपर्ने उहाले सुझाव दिनुभयो ।