
बागलुङ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएका छन् ।कालीगण्डकी करिडोरको बागलुङखण्ड र मध्यपहाडी लोकमार्गको बागलुङखण्ड अवरुद्ध भएका हुन् ।गए रातिदेखि परेको लगातार वर्षाका कारण बागलुङ नगरपालिका–१३ स्थित कालाखोला बगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको हो ।यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिवाङ–निसीखोला सडकखण्डको निसीखोला गाउँपालिका–४ कानाबजार नजिक ठाडाखोलामा बाढी आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।अवरुद्ध दुवै सडक सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालय, मध्यपहाडी लोकमार्ग आयोजना र कालीगण्डकी करिडोर कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।वर्षा जारी रहेकाले सडक खुलाउन समय लाग्न सक्ने र यात्रु तथा सवारीसाधनलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।



























