
काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलले सरोकारवाला निकायसंग परामर्श गर्ने भएको छ ।शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि भएको छलफललाई अन्तिम रुप दिनका लागि सोमबार सरोकारवाला निकायसंग परामर्श गर्ने निर्णय गरेको हो । सरोकारवाला निकायसंगको परामर्शपछि कार्यदलले अन्तिम प्रतिवेदन तयार गरि शीर्ष तहलाई बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।हत्या, सजायको बिषयमा पनि कार्यदल सहमति नजिक पुगिसकेको उहाले बताउनुभयो । पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने बर्तौलाले बताउनुभयो ।त्यस्तै कार्यदल सदस्य माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको भन्दै अन्तिम रुप दिन बाँकी रहेको बताउनुभयो । विधेयकमा रहेका चार बिषय टुङ्गाउन ढिला भएको भन्दै अव अन्तिम प्रतिवेदन छिटै शीर्ष तहमा बुझाउने उहाले बताउनुभयो ।




























