
एक दिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ ।आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोट खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । आयरल्यान्डले विश्वकप सुपरलिगको शीर्ष आठमा रहँदै सोझै छनोटले मौका गुमाएको हो ।आयरल्यान्ड र बंगलादेशबीच सुपर लिगको अन्तिम सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएर अङ्क बाँडे पछि आयरल्यान्डले छनोट खेल खेल्नु पर्ने भएको हो ।अब छनोटमा वेस्ट इन्डिज, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, नेपाल, अमेरिका र संयुक्त अरब इमिरेट् (युएई) बीच प्रतिस्पर्धा हुनेछ । नेपालले आइसिसी विश्वकप लिग-२ मा तेस्रो बन्दै छनोट खेलमा स्थान बनाएको हो ।स्कटल्यान्ड लिग-२ को पहिलो र ओमान दोस्रो बन्दै छनोटमा पुगेको हो । छनोट खेलमा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहबाट शीर्ष तीन तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ ।विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाएका छन् ।




























