
काठमाडौं| एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।दोस्रो चरणको काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ ।सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजना, समावेशी विकास कार्यक्रम, काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत प्रसारण र वितरण सुदृढीकरण परियोजनाका लागि एडीबीले ६ अर्ब ५२ करोड अनुदान र बाँकी रकम सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो ।शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गर्नुभयो ।सो क्रममा सचिव घिमिरेले नेपालको सामाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोग निकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाले आयोजनालाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अपेक्षित नतिजा सुनिश्चित गर्न सम्बन्धीत निकायलाइ आग्रह गर्नुभयो ।एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडीबीको निरन्तर सहयोग हुने बताउनुभयो ।




























