
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सशक्त मार्गचित्र बन्न सक्ने बताएका छन् ।मंगलबार भृकुटीमण्डपमा आयोजित नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले नेपालमै सवारी साधन उत्पादन गर्ने वातावरण निर्माण गरी मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढाउनुपर्नेमा जोड दिए ।उनले अटोमोबाइल क्षेत्रको विकासका लागि नयाँ प्रविधि, विद्युतीय सवारी साधन (ईभी), अटो पार्ट्सलगायतका सेवाहरूलाई एउटै छातामुनि प्रस्तुत गर्दै उपभोक्तासम्म पुर्याउने नाडाको प्रयास सकारात्मक रहेको बताए ।उपराष्ट्रपति यादवले अटो शोमार्फत उपभोक्ता, उद्योगी, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने बताए ।उनले नेपाली अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विश्वस्तरीय सुरक्षा मापदण्ड नेपालमा प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिए ।यादवका अनुसार अटोमोबाइल क्षेत्रको विस्तारसँगै उत्पादन, प्रविधि, रोजगारी र लगानीका अवसर बढाउन आवश्यक छ । स्वदेशमै सवारी साधन उत्पादनको वातावरण निर्माण गर्न सके आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।यस्तै, इन्धन आयातमा बाहिरिने ठूलो रकम रोक्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा पनि उनले जोड दिए । नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत् उत्पादन तीव्र गतिमा बढिरहेको उल्लेख गर्दै उनले पेट्रोल तथा डिजेल आयातमा रहेको निर्भरता घटाउन ईभीको प्रयोग बढाउनु दिगो उपाय भएको बताए ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२६ मंगलबारदेखि सुरु भएको हो । भृकुटीमण्डपमा आयोजना हुने मेला भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।‘काठमाडौंमा अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्ने पूर्वाधार छैन’कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले काठमाडौंमा पर्याप्त भौतिक पूर्वाधारको अभावका कारण अटोमोबाइल क्षेत्रको पूर्ण क्षमता प्रदर्शन गर्न नसकिएको बताए ।भृकुटीमण्डपको वर्तमान संरचनाले ट्रक, बस तथा हेभी इक्विपमेन्ट प्रदर्शन गर्न पर्याप्त स्थान नदिएको उल्लेख गर्दै उनले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।अध्यक्ष उप्रेतीले सवारी साधनलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्नुपर्ने बताए । उनले सवारी साधन अब विलासिताको वस्तु मात्र नभई नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको आधारभूत आवश्यकता बनिसकेको बताए ।उनका अनुसार अटोमोबाइल क्षेत्रले १० लाखभन्दा बढीलाई रोजगारी दिएको छ भने वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी राजस्वमा योगदान गर्दै आएको छ । आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि यो क्षेत्र महत्वपूर्ण रहेको उनले बताए ।



























