
चालू आर्थिक वर्ष सकिनै लाग्दा सरकारले आन्तरिक ऋण उठाउने कार्यलाई तीव्रता दिएको छ । एक महिनादेखि सरकारले राष्ट्र बैंकमार्फत हरेक साता ट्रेजरी बिल बिक्री गरी पैसाको जोहो गरिरहेको छ ।नेपाल राष्ट्र बैंकले सूचना जारी गरेर आज (सोमबार) फेरि २८ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरी सरकारलाई रकम जुटाउन लागेको जनाएको छ । दिउँसो तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणको ट्रेजरी बिल बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्म बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा टे«जरी बिल बिक्री गरिनेछ । कुल २८ अर्ब ५० करोड रुपैयाँमध्ये २५ अर्ब रुपैयाँ पुरानो ऋणको पुनः बिक्री हो । बाँकी तीन अर्ब ५० करोड रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।जेठ ३० गतेदेखि जारी हुने ट्रेजरी बिलमा वाणिज्य बैंक, किवास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको आठ अर्ब ५० करोड, एक सय ८२ दिन अवधिको चार अर्ब र तीन सय ६४ दिन अवधिको ११ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरिनेछ ।राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी बिल २०८० असार २६ गते परिपक्व हुनेछ । यस्तै ९१ दिन अवधिको २०८० भदौ २६ गते, एक सय ८२ दिन अवधिको २०८० मंसिर २६ गते र तीन सय ६४ दिन अवधिको २०८१ जेठ २९ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले गतसाता ३० अर्ब ८७ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।




























