काठमाडौं । भारतका चर्चित गायक सोनु निगम बुधबार नेपाल आइपुगेका छन् ।क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिनसोनु निगम अपरान्ह् काठमाडौं आइपुगेका हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई आयोजक नेपाल टचका पदाधिकारीले स्वागत गरे ।निगमको सांगीतिक समूहका सदस्यहरू भने बुधबार बिहानै तयारीका लागि आइसकेका छन् ।प्रशस्तै हिट नेपाली गीतसमेत गाइसकेका निगमलाई स्वागत गर्न आयोजक नेपाल टचका पदाधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।नेपाल टेकेपछि निगमले आफ्नो प्रस्तुति दिन आफू उत्साहित रहेको प्रतिक्रिया दिए । निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन् । झण्डै १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको कन्सर्टमा निगमले ३ घण्टा आफ्ना गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।कन्सर्टमा निगमले नेपाली चलचित्र ‘सिमाना’को चर्चित गीत ‘उकाली ओराली गर्दै’ लगायतका आधा दर्जन नेपाली गीत पनि गाउनेछन् ।कन्सर्टपछि निगम बिहीबार बेलुका भारत फर्किने तयारी छ । त्यसअघि उनले बिहीबार बिहान पशुपतिनाथ दर्शन र पर्वतीय उडान भर्नेछन् ।