
काठमाडौं । विनोद पौडेल निर्मित चलचित्र ‘रोल नं १’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्माता पौडेलको नयाँ चलचित्रप्रति दर्शकमाझ उत्साह देखिएको छ ।जोन योञ्जन को निर्देशन रहेको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, एवन राज उप्रेती र सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । बाल कलाकारका रूपमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठले अभिनय गरेका छन् ।चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । चलचित्रको कथा तथा पटकथा महेश दवाडी ले लेखेका हुन् । डीओपीको जिम्मेवारी शिवराम श्रेष्ठ ले सम्हालेका छन् ।सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ प्रदान गरेको छ । यससँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले सहज रूपमा हेर्न सक्ने भएका छन् ।देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा १६ र उपत्यकाबाहिर दमौलीबाहेक १९ शो उपलब्ध गराएको छ । त्यस्तै, INI Cinemas ले आफ्ना ६ चेनमार्फत १८ शो दिएको छ । वान सिनेमाजले ५ तथा बिग मुभिजले ४ शो दिएका छन् । चलचित्रले देशभर करिब १५० शो पाएको बताइएको छ ।



























