
काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटी आगामी नेपाली सिनेमा गंगारानी मा अनुबन्धित भएकी छन् । निर्माण टिमले उनलाई औपचारिक रूपमा स्वागत गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको हो ।सार्वजनिक पोस्टरमा रातो पहिरनमा प्रस्तुत वर्षा आत्मविश्वासी र आकर्षक अवतारमा देखिएकी छन् । उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको कथा संकेत गरेको देखिन्छ । पोस्टरको अग्रभागमा एक युवकको कालो छायाँसमेत देखाइएको छ, जसले कथामा गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान गर्न सकिन्छ । तर, ती पात्र को हुन् भन्ने विषय खुलाइएको छैन ।पोस्टरको पृष्ठभूमिमा पुराना घर र बस्तीको परिवेश देखाइएको छ, जसले सिनेमाको कथा ग्रामीण तथा सामाजिक परिवेशसँग जोडिएको संकेत गर्छ ।आहा फिल्म्स को प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा हुन् भने लेखन तथा निर्देशन राजबहादुर साने ले गर्नेछन् ।यससँगै निर्माण टिमले नयाँ कलाकारका लागि कास्टिङ कल पनि खुलाएको छ । सार्वजनिक पोस्टरमार्फत मुख्य पात्रका लागि ४ महिला र ४ पुरुष कलाकारको आवेदन आह्वान गरिएको हो ।निर्माण टिमका अनुसार २० देखि ४० वर्ष उमेर समूहका पुरुष तथा १८ देखि ३५ वर्ष उमेर समूहका महिलाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति जेठ २० गतेसम्म तोकिएको छ ।निर्देशक सानेले यसअघि पाठशाला, द रिटर्न हिरो, लाटी, वृन्दावन, बिरंगना, डोली, गुड फ्रेण्ड, सिल्ली फो, बुलाकी, जुना तथा सिटामोल लगायतका चलचित्र लेखन तथा निर्देशन गरिसकेका छन् । उनले बुलाकी बाट उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कारसमेत जितेका थिए । हाल लज्जावती प्रदर्शनको तयारीमा रहेको छ, जसको निर्देशन पनि सानेले नै गरेका हुन् ।



























