अमेरिकी गृहयुद्ध आधुनिक र पुरातन विचारहरु बीचको मुठभेड थियो । यस प्रकारको मुठभेडमा एकातिर संयुक्त राज्य अमेरिकाका उत्तरी राज्यहरु थिए जहाँ नयाँ विचार र सोच भएका मानिसहरु बस्दथे र उनीहरु दास प्रथालाई चरम घृणाको दृष्टिले हेर्दथे । उत्तरका यी राज्यहरुमा औद्योगिकीकरण तीव्र रुपमा बढिरहेको थियो । अर्कोतिर दक्षिणीहरु थिए, जसको प्रमुख आयस्रोतको रुपमा कटन उत्पादन रहेको थियो । र यससँग सम्बन्धित ठूला खेतीयोग्य फाँटहरु यहाँ थिए । निग्रो दासहरु यहाँको कटन खेतीको जमिनमा आफ्नो श्रम खन्याउँथे । त्यतिमात्र होइन यहाँका दासहरुलाई जनावरलाई भन्दा तल्लो स्तरको व्यवहार गरिन्थ्यो । त्यसैले दक्षिणका जमिन्दारहरु दास प्रथा निरन्तर गर्न चाहन्थे र दास प्रथा उन्मूलन गर्नु भनेको आफ्नो व्यवसायको बर्बादी ठान्दथे उनीहरु । उत्तरले चाहिं यही दास प्रथा उन्मूलनका लागि संघर्ष ग¥यो र जित्यो पनि । यसले निग्रो दासहरुका अधिकार सुनिश्चित गर्दै स्वतन्त्रता प्रदान ग¥यो । दासहरुको यस्तो स्वतन्त्रताले अमेरिकालाई औद्योगिक रुपमा गौरवशाली तुल्याउँदै समृद्धिको द्वार खोलेको थियो ।
अमेरिकाले लामो संघर्षपछि अठारौं शताब्दीको उत्तराद्र्धमा ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता पाएको थियो । तर अझै पनि अमेरिकाले वास्तविक प्रजातन्त्र र संसदीय प्रणालीको स्थापना गर्नु अत्यन्त जरुरी थियो । थोमस जेफर्सनले विश्वभरिका मानिसको विचारलाई प्रभावित पार्ने र आफ्नै देशलाई ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता प्रदान गर्ने “स्वतन्त्रताको घोषणा” लेखेका भए पनि स्वतन्त्रतापछि पनि आफ्नै देशमा भने असंख्य निग्रो दासहरु थिए । ती निग्रो दासहरुको कुनै अधिकार थिएन र उनीहरु नर्कजस्तो जीवन जिउन बाध्य थिए ।
त्यसबेला अमेरिकी समाज र राजनीति स्पष्टरुपमा दुई भागमा विभाजित थियो । उत्तर अमेरिकी राज्यका जनताहरु औद्योगिक क्रान्तिको चरणमा भएकोले दास प्रथा विरुद्ध कडा रुपमा प्रस्तुत भए । यस क्षेत्रका जनताहरु पहिले युरोपले आफूमाथि गरेको अत्याचारझैं आफ्नै देशमा दासहरुप्रति भयानक अत्याचार भइरहेको र यसले सम्पूर्ण मानव जातिलाई लज्जित तुल्याएको ठान्दथे । जतिसक्दो चाँडो यो उन्मूलन हुन्छ त्यति नै मानव समुदायको शर्मले निहुरेको टाउको उच्च हुनेछ भन्ने धारणा यिनीहरुको थियो । अर्कोतिर यो देशको दक्षिणी भेगमा कुलीन भूमिपति र कटन उत्पादन गर्ने जमिन्दारहरु बस्दथे । यिनीहरुको प्रमुख आयस्रोत खेतिपाती नै थियो, त्यसमा पनि कटन । धेरै राम्रो नाफा कमाउनको लागि तिनीहरुलाई सित्तैमा काम लगाउन पाइने दासहरुको धेरै नै आवश्यकता थियो । यस परिप्रेक्ष्यमा दास प्रथा विरुद्ध उत्तरका २३ राज्यहरु थिए भने दास प्रथाको पक्षमा दक्षिणका ११ कटन उत्पादक राज्यहरु थिए । स्पष्ट रुपमा दुई भागमा विभाजित अमेरिकी राज्यहरुमा भएको यो गृहयुद्ध सानो र कम महङ्खवको थिएन । विश्व नै औद्योगिक क्रान्तिको माहोलमा होमिएको बेला चलेको अमेरिकी गृहयुद्धप्रति धेरैका नजर अडिएका थिए । तर अमेरिकाको उत्तर औद्योगिक भागको विजयले सम्पूर्ण अमेरिकालाई समृद्धिको मार्गतर्फ अघि बढाएको थियो । र, यसै विजयको कारणले नै अमेरिका औद्योगिक महाशक्ति बन्न सफल भएको थियो ।
अमेरिका प्राकृतिक सम्पदामा धेरै नै समृद्ध राष्ट्र थियो । त्यहाँ उद्योगहरु अत्यन्त तीव्र गतिमा स्थापना भइरहेका थिए । यो राष्ट्रलाई त्यसबेला अनगिन्ती स्रोतहरुको भूमिको उपनाम पनि दिने गरिन्थ्यो । लाखौं जर्मन, आइरिस र इंग्लिसहरु आफ्नो सुनौलो भविश्य र सुन्दर जीवनको खोजीमा अमेरिकामा बसाइँ सरेका थिए । तिनीहरुलाई आशा थियो कि अमेरिकाको विशाल भूमि र सम्पदा तिनीहरुको सुनौलो भविष्यको द्वार हुनसक्छन् । १८५० देखि १८६० सम्मको निरन्तरको बसाइँ सराइबाट अमेरिकाको जनसंख्या दुई करोड तीस लाखबाट ह्वात्तै बढेर तीन करोड बीस लाख बन्न पुगेको थियो । तर उद्योगको तीव्र विकासको लागि श्रमिकहरुको धेरै नै आवश्यकता थियो । दुर्भाग्यवश उक्त श्रमिक शक्तिचाहिं दास प्रथाको क्रूरतामा अडिएको थियो । त्यहाँका चार दक्षिणी राज्यमा मात्रै चालीस लाख दासहरु नारकीय जीवन बिताइरहेका थिए । यी दासहरु कटन खेतीको भूमिमा पशुसरी श्रम गर्दथे । तिनीहरुले अन्धो भक्त भएर आफ्ना मालिकले दिएको आदेश पूरा गर्नु पर्दथ्यो । तिनीहरुको जीवनमा अधिकार नामको कुनै शब्द नै थिएन । तिनीहरु वस्तु र सामान जसरी एक ठाउँबाट अर्को ठाउँमा बिक्री पनि गरिन्थे । यसबेला जब युरोपले दास प्रथालाई अमानवीय प्रथाको संज्ञा दिँदै उन्मूलनको शुरुवात गरेको थियो, त्यसैबेला अमेरिकामा तिनीहरु पशुजस्तै जीवन जिइरहेका थिए ।
सन १८५० देखि कटन उत्पादन गरिने दक्षिणी राज्यका जमिन्दारहरु आफूलाई फरक समूह भएको ठान्न थाले । उनीहरु उत्तरको औद्योगिक क्रान्तिका बारेमा आफू अनभिज्ञ रहेको र जान्ने चासो पनि नभएकोले उत्तरकाहरुलाई पनि दक्षिणको किन चासो ? भनेर प्रश्न उठाउन थाले । उनीहरु मोजमस्ती र आनन्दको जीवन आफूले बिताइरहेको र यसमा निग्रो दासहरुको धेरै महङ्खवपूर्ण भूमिका भएकोले दासहरुलाई उनीहरु आफ्नो एक महङ्खवपूर्ण भाग रहेको पनि ठान्दथे । तर उत्तरकाहरुको विचार र जीवनशैलीले उनीहरुको सम्पूर्ण सुख चैन विनाश गर्न लागेको उनीहरुले ठानेका थिए । दक्षिणका राज्यहरु सिनेटमा उत्तरी राज्यका सदस्यहरुको संख्या बढ्दै गएकोमा आशंकित हुन थाले । १८५० मा भएको सम्झौतामुताविक क्यालिफोर्नियाले स्वतन्त्र राज्यको रुपमा प्रवेश पायो । नवस्थापित यो राज्यमा दास व्यापारलाई प्रतिबन्ध गरियो । तर यसैबेला आफ्ना मालिकको घरबाट भागेका दासहरुलाई उनीहरुको पहिलेकै मालिकको घरमा फिर्ता पठाउने निर्णय पनि गरियो । यस्तो परिस्थितिले वियोगान्तक भाव जनताहरुमा जन्म लियो । निग्रो दासहरुको दयनीय अवस्था र नारकीय जीवनप्रति आधारित भएर हेरियट वीच स्टोवीले एक महान् संवेदनशील उपन्यास “अड्ढल टम्स् क्याबिन” लेखे । १८५२ मा प्रकाशित भएको यो उपन्यासले मानव दृष्टिको पर्दा च्यातेर मानव नमानेर पशुतुल्य व्यवहार गरिएको निग्रो दासहरुको जीवनको यथार्थ चित्रण गरेका थिए । घिनलाग्दो दास प्रथाको समर्थन गर्ने अमेरिकाका दक्षिणी राज्यका जमिन्दारहरुले यो उपन्यासको प्रकाशनपछि शर्मले शिर उठाउन सकेनन् ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनको बेला दास प्रथा उत्तर र दक्षिणका राज्यहरुमा भौगोलिक विभाजन ल्याउने एक प्रमुख मुद्दा बन्ने गर्दथ्यो । नवनिर्मित राज्य र आवादीहरुमा पनि यो विषयमा मत विभाजित थियो । यस्तो विभाजन नयाँ राज्यहरु जस्तै, कन्सास, नेब्रास्का, उताह, न्यूमेक्सिको आदिमा थियो । दास प्रथाको सम्बन्धमा मानवीय कारणको अलावा धेरै प्रभावशाली आर्थिक कारणहरुले विभाजनको भूमिका निभाएका थिए । उत्तरका राज्यहरु पहिले नै भनिएझैं प्रजातन्त्र र औद्योगिकीकरणको पक्षमा थिए । तिनीहरु विदेशी व्यापारलाई प्रभावशाली बनाउन केही सीमितताहरु पनि अपनाएका थिए जसले उनीहरुका उद्योगहरुको सञ्चालन राम्ररी हुनसक्थ्यो । उता दक्षिणी राज्यहरु बिनाकुनै बाधा र सीमितता व्यापारलाई चल्न दिनुपर्छ । आफ्नो कटनको सजिलो निर्यातसँग अन्य आवश्यक सामग्रीहरु आयात गर्न उनीहरुले सकून् । यहाँका जनताहरु युरोपका समृद्ध राष्ट्रहरुबाट चाहेको सामग्री आयात गर्न चाहन्थे र यदि उनीहरुले यसो गरेमा आफूलाई संकट पर्दा ती राष्ट्रहरुले सहयोग गर्ने उनीहरुको अपेक्षा थियो । उता, उत्तरी राज्यहरुचाहिं विदेशी सामानहरु सजिलै र कम करमा आयत गरेमा उनीहरुले उत्पादन गरेका सामग्रीहरु बेच्ने बजार पाउने कुरामा धेरै नै चिन्तित थिए ।
१८६० अमेरिकी राष्ट्रपतिको निर्वाचन भयो । रिपब्लिकनहरुले अब्राहम लिंकनलाई आफ्नो उम्मेदवार बनाए । डेमोक्र्याटस्हरुले डगलसलाई र दक्षिणी डेमोक्र्याटस्हरुले बेकिन्रिजलाई उम्मेदवार बनाए । त्यस्तै जोन बेल युनियन पार्टीका उम्मेदवार बने । तर अन्ततः रिपब्लिकनका लिंकनले चुनाव जिते । उनी गरिब परिवारबाट आएका थिए र अनौपचारिक शिक्षामात्र ग्रहण गरेका व्यक्त थिए । उनी एक लोकप्रिय नेता थिए र आफ्नो छवि उनले समयसँगै झनै प्रभावशाली बनाए । उनी प्रखर वक्ता पनि थिए । लिंकनले आफ्नो जीवनकालमा दाउरेको जीवन पनि बिताएका थिए । उनी आफैं पनि गरिबी र आधारभूत सामग्रीको अभावले पिल्सिएका थिए । तल्लो र मध्यम वर्गले उनीप्रति अत्यन्त श्रद्धा र आदरभाव राख्दथे । आफ्नो राजनैतिक जीवनको प्रारम्भिक कालदेखि नै उनी दास प्रथा उन्मूलन गर्ने कुराको कट्टर समर्थक थिए । यस परिप्रेक्ष्यमा हामी भन्न सक्छौं कि दास प्रथाको विषय पनि उत्तर र दक्षिणको विभाजनको मुख्य विषय बनेको थियो । लिंकनको विजयले दक्षिणका राज्यहरुलाई चिन्तित तुल्यायो ।
डिसेम्बर, १८६० मा साउथ क्यारोलिना राज्यले संयुक्त राज्य अमेरिकाबाट आफू छुट्टिएको बतायो । त्यसै समयमा जनवरी, १८६१ देखि मे १८६१ सम्ममा मिसिसिपी, फ्लोरिडा, अल्बामा, जर्जिया, लुसियाना, टेक्सास, भर्जिनिया, अर्कान्सस, टेनेसी र नर्थ क्यारोलिनाले पनि साउथ क्यारोलिनाझैं आफूहरु संयुक्त राज्य अमेरिकाबाट अलग्गिएको बताए । छुट्टिएका सातवटा राज्यहरुको मिटिङ अलाबामाको मोन्टगोमेरीमा बस्यो र यसले फेब्रुअरी ४ मा आफ्नै नयाँ प्रस्तावित सरकारको घोषणा गर्दै कन्फिडरेट स्टेटस अफ अमेरिका भन्ने आफ्नो नयाँ नामाकरण ग¥यो । ४ फेब्रुअरी, १८६१ मा तिनीहरुले जेफर्सन डेभिसलाई आफ्नो कन्फिडरेसनको नयाँ राष्ट्रपति घोषणा गरे ।
विखण्डनकारीहरुले राष्ट्रको संघीय कोषमा कब्जा जमाए र समुद्री बन्दरगाहमा रहेका राष्ट्रिय सुरक्षाकर्मीलाई तुरुन्त त्यो छोड्ने माग गरे । तर मेजर रोबर्ट एन्डरसनले विखण्डनकारी सामु आत्मसमर्पण गर्न अस्वीकार गरेपछि अप्रिल १२, १८६२ मा बिउर गार्डले त्यहाँ बमबारी गरे । यही नै अमेरिकामा गृहयुद्धको वास्तविक शुरुवात थियो । यसबेला अमेरिका स्पष्टले दुई भागमा विभाजित थियो । एक थिए, संघियतावादी र अर्को विखण्डनकारी । विखण्डनकारीहरुले रिचमोण्ड शहरलाई आफ्नो राजधानी बनाए । यो कार्य अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको लागि कडा चुनौती थियो ।
शुरुमा त्यहाँ विकसित भइरहेका घटना क्रमहरुलाई राष्ट्रपति लिंकनले हल्का रुपमा लिए । उनमा यस्तो विचार शायद उत्तरमा रहेका प्रशस्त स्रोत साधन र विशिष्टताको कारणले उत्पन्न भएको हुनसक्छ । त्यहाँ जम्मा २३ वटा राज्यहरु थिए र यसको जनसंख्या दुई करोड तीस लाख थियो । त्यस मध्ये दक्षिणमा ११ वटा राज्य पचास लाख जनसंख्या थियो । उत्तरमा अधिकांश विशाल उद्योगहरु थिए र रेलमार्गमा यो धेरै नै विकसित थियो । दक्षिणचाहिं कटन उत्पादनमा नै भर परेको थियो । तर उत्तरसँग राम्रो वित्तिय स्रोत र जल शक्ति पनि थियो ।
त्यसपछि लिंकनले ७५,००० संख्याको स्वयंसेवक शक्ति निर्माण गरे । तिनीहरु तालिम विहीन पुरुषहरु थिए । पहिलो संघर्ष बुलरन भन्ने स्थानमा भयो । संघहरुको ३०,००० संख्याको सैन्यको नेतृत्व जनरल विनफिल्ड स्कटले गरेका थिए । उता विखण्डनकारीहरुको तर्फबाट २५,००० सैनिक लिएर बिउरगार्ड पोटोम्याक नदी पार गर्दै अघि बढे । जनरल जोसेफ जोन्सटन विखण्डनकारीहरुको तर्फबाट अर्को सैन्य डफ्फासहित हार्परप्रेरीमा बसे । साथै जनरल प्याटरसन पनि शक्तिशाली सैन्य संख्या सहित तम्त्यार भएर बसे भने जनरल इरभिन म्याकडोलचाहिं बिउरगार्डको सैन्यसँग सामेल हुन अघि बढे । संघीय सैन्य पनि आफ्नो स्थानमा भिडन्तको लागि तम्तयार बस्यो । तर गृहयुद्ध शुरु भएको पहिलो दुई वर्षमा दक्षिणका विखण्डनकारीहरुले अनेकौं स्थानमा विजय प्राप्त गरे । उत्तरको पराजय हुँदै गएको देखेपछि लिंकनले बल्ल परिस्थिति जटिल बनेको यथार्थ बुझे ।
नोभेम्बरमा संघीय पक्षका स्कटको स्थानमा जनरल जर्ज म्याकक्लेनलाई सैन्य कमान्डर बनाएर पठाइयो । उनले २,००,००० संख्याको तालिम प्राप्त र शक्तिशाली सैन्य बल तयार गरे । र विखण्डनकारीहरुको राजधानीमाथि नै हमला गर्ने निधो गरे । १८६१–६२ मा दक्षिणी समुद्री तटलाई नाकाबन्दी गर्ने नीति उत्तर लियो । नर्थ क्यारोलिनाका क्लर्क र हेटेरस किल्लालाई सर्वप्रथम कब्जा गरियो र त्यस लगत्तै रोनोकद्वीप र एलिजाबेथ नगरमाथि पनि संघीय सैन्यले नियन्त्रण जमायो । मार्च १८६२ मा फ्लोरिडाको जेक्सोन्भिल कब्जा गरियो । एडमिरल फरगटको नेतृत्वमा रहेको जलसैन्य बलले न्यू अर्लियन्सभन्दा दक्षिणमा सबै किल्लामा हमला ग¥यो र मे १ मा शहरमा बमबारी गरियो ।
म्याकक्लेन जल क्षेत्रको मार्ग हुँदै रिचमोण्ड तर्फ लागे । उनी जेम्स नदीको मुखमा पुगे । जनरल ली पछाडि सर्दै थिए, तर जनरल ज्याक्सनको सहायता पाएपछि संघीय सैन्य पछि हट्यो । १८६२ को शरदमा ली वासिङ्टनतर्फ अघि बढे । संघीय सैन्यका जनरलले पोपले बुलरनमा पराजय भोगे । त्यसपछि म्याकक्लेनको स्थानमा बर्न साइड नियुक्त भए । लीले उनलाई पनि फ्रेडरिकवर्गको युद्धमा पराजित गरे । तर त्यसैबेला सिलोहको संघर्षमा विखण्डनकारी जनरल जोन्सटनको मृत्यु भयो । जुलाई १८६३ मा गेटस्वर्गमा भएको ऐतिहासिक युद्धपछि संघीय सैन्यले मिसिसिपीदेखि भिक्सवर्ग र टेक्सास, अर्कान्स, लुसियानाजस्ता स्थानमा कब्जा गर्ने र घेराबन्दी गर्ने कार्य गरे ।
त्यसपछि संघीय सैन्यको कमान्डरको रुपमा जनरल ग्रान्ट नियुक्त भए र जनरल शर्मनचाहिं पश्चिमी क्षेत्रको कमान्डर भए । एटलान्टाको युद्धमा दक्षिणी सैन्यको नेतृत्व गरिरहेका जनरल हुडलाई शर्मनले नराम्ररी पराजित गरे । विखण्डनवादीको सैन्य अब उत्तरमा रहेका ग्रान्ट र दक्षिणमा रहेका शर्मनको बीचमा प¥यो । संघीय सैन्यले खाद्य सामग्रीको ओसार–पसारदेखि अन्य कुरामा नाकाबन्दी गरेपछि दक्षिणी राज्यका सैन्यलाई अब निकै कठिनाइ उत्पन्न भयो । शर्मनले फाइभ फोर्कको युद्ध जितेपछि दक्षिणीहरुले घोषणा गरेको उनीहरुको राजधानी रिचमोन्डलाई आत्मसमर्पण गराए । ग्रान्ट अब विद्रोहीका जनरल लीको व्यापक खोजीमा लागे । अन्ततः ली संघीय सैन्य कमान्डर ग्रान्ट सामु आत्मसमर्पण गर्न बाध्य भए । दक्षिणको राष्ट्रपति बनाइएका जोफर्सन डेभिस भागे र जर्जिया पुगेका थिए तर १० मे, १८६५ मा उनी पनि गिरफ्तारीमा परे ।
१८६४ मा राष्ट्रपति अब्राहम लिंकनले पराजित दक्षिणी राज्यहरुलाई सहानुभूतिपूर्ण र सौहार्द्र सम्बन्ध बनाउने घोषणा गरे । तर उनले १८६३ मा नै दास प्रथालाई संयुक्त राज्य अमेरिकाबाट उन्मूलन गरिसकेका थिए । फेब्रुअरी १८६५ मा गरिएको संविधानको तेह्रौं संशोधनले दास प्रथाको उन्मूलन संविधानमै लेखेर यसलाई संयुक्त राज्य अमेरिकाका सबै राज्यहरुमा कडाइका साथ लागू गर्ने भनियो । तर दक्षिणमा काला जातिका मानिसहरुको अधिकार सीमित गर्ने धेरै प्रयासहरु भए र उनीहरु तत्कालीन अमेरिकी राष्ट्रपति अब्र्राहम लिंकनसँग धेरै रुष्ट भए । यसै परिप्रेक्ष्यमा अमेरिकी राष्ट्रपतिसँग रुष्ट अनेकौं व्यक्तिहरु मध्ये जोन विल्केस बूथ नामको एक व्यक्तिले राष्ट्रपतिको हत्या ग¥यो । राष्ट्रपति लिंकनको हत्यापछि काला जातिका मानिसहरुलाई भोटको अधिकार, सम्झौता गर्ने अधिकार, मुद्दा दायर गर्ने अधिकार र अदालतमा साक्षी हुन पाउने अधिकारहरु दिइयो ।
गृहयुद्धको कारणले दक्षिणी राज्यहरु क्षतविक्षत भएका थिए । काला जातिका मानिसहरुले पनि दास प्रथा उन्मूलन हुनेबित्तिकै कुनै विशेष फाइदा पाएनन् । तिनीहरुलाई गोरा मानिसले कहिल्यै पनि आफू समान ठानेनन् र घृणाको दृष्टिले हेरिरहे । तथापि यिनीहरुले राष्ट्रपति लिंकनको प्रयासले नै संवैधानिक अधिकार र अन्य विशेषाधिकारहरु पाएका थिए । लिखित अधिकारलाई व्यवहारमा परिवर्तन गर्न पछिपनि काला जातिका अनेकौं मानिसहरुले आत्मबलिदान गरेका थिए ।
यो गृहयुद्धको बेलामा कठिन परिस्थितिबाट गुज्रेको अमेरिका यसपछि पुनः आर्थिक समृद्धि तर्फ अघि बढ्न थाल्यो । ऊ बीसौं शताब्दीको गौरवमय राष्ट्र हुनको लागि यो गृहयुद्धले उसलाई अनेकौं पाठहरु पढाएको र उपलब्धिहरु दिएको थियो । यदि दास प्रथाका समर्थकहरु अमेरिकी गृहयुद्धमा पराजित नभएका भए तीव्र औद्योगिक विकासको लागि चाहिने लाखौं संख्याका मजदुरहरु दास बनेर रहने थिए जसले अमेरिकालाई संसारको औद्योगिक महाशक्ति हुनबाट पूर्णरुपमा बञ्चित गर्ने थियो । यिनै बँधुवा मजदुरको रुपमा रहेका दासहरुको मुक्तिले नै वास्तवमा अमेरिकामा समृद्धिको नयाँ ढोका उघारेको थियो र यो गृहयुद्धले अमेरिकामात्र नभएर संसारभर कुप्रथाको रुपमा रहेको दास प्रथा विरुद्ध आमरुपमा सशक्त आवाज दिएको थियो ।
