प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागी पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभएको छ ।‘जाउँ हिड रेसुङ्गा’ कार्यक्रमको बिहीबार काठमाडौंमा शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देशव्यापी रूपमा आगलागी फैलिएको र गुल्मी जिल्लामा पनि आगलागीबाट ठूलो क्षति पुगेकोप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितहरूका पक्षमा सरकारको तर्फबाट आवश्यक सहयोग गरिने बताउनुभएको हो ।वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटन वहुआयमिक सम्भावनाहरूको नेतृत्व गर्ने क्षेत्र भएको बताउनुभयो ।उहाले रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र भएको भन्दै रेसुङ्गामा एउटा मन्त्रिपरिषद् बैठक बसाउनका लागि पहल गर्ने बताउनुभयो । पर्यटन क्षेत्रको विकासमा तीनै तहका सरकार थप क्रियाशील हुनुपर्नेमा उहाले जोड दिनुभयो ।प्रधानमन्त्री प्रचण्डले गैरसरकारी तथा समुदायिक क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सकिने बताउनुभयो ।